विराटनगर । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको छ । आधुनिक एलोप्याथी अभ्यासलाई पूर्ण रूपमा नै अङ्गीकार गरी औषधि, शल्यक्रिया र उच्च प्राविधिक उपचारहरूको प्रयोग भइरहँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम छ महिना अगाडीदेखि सुरु गरेको थियो ।
जस अनुसार मंगलबार विराटनगरमा चौंथो चरणको कार्यक्रम आयोजना गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कार्यालय प्रमुख डा.राम प्रबोध चौधरीका अनुसार अघिल्ला कार्यक्रम भन्दा अहिले धेरैमा चासो देखिएर सेवाग्राही आएका हुन् । आयुर्वेद पञ्चकर्मका एम.डी. चौधरीका अनुसार राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई मोरङमा अझै व्यवस्थित र एकरूपताका साथ सञ्चालन गर्ने तयारी भइरहेको छ ।
यहाँका अनुसार अब सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक विशेष आयुर्वेदिक औषधि खुवाउने छ । शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर यो औषधी खुवाइने छ । स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो, जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गरिन्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिनु र उनीहरूलाई विभिन्न रोगबाट बचाउन यसको प्रयोग गर्ने गरिन्छ ।
‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि मानिन्छ । प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने मान्यता छ । मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैँमा एक प्राकृतिक जीवाणुरोधी तत्त्व हो, जसले सङ्क्रमणबाट बचाउँछ ।
‘यो कुनै अन्धविश्वासमा आधारित परम्परा नभई हजारौँ वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान मानिएको छ । स्वर्ण भस्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पुष्टि गर्छ ।
‘आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत ‘नानो–मेडिसिन’ र ‘न्युरो–इम्युनोमोडुलेटर’ फर्मुलेसन मानिएको छ । यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन होइन । यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो, जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्दछ ।
ब्राह्मी र शंखपुष्पी जस्ता ‘मेध्य रसायन’ जडीबुटीहरूमा पाइने ‘नूट्रोपिक्स, एड्याप्टोजेन्स’ जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढवा दिने चौधरीको भनाई छ । ‘स्वर्ण बिन्दु प्राशन’ बनाउन ‘स्वर्णभस्म’लाई घ्यू र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइन्छ । स्वर्णभस्मलाई घ्यू र महसँग मिसाएर पेस्टका रूपमा बालबालिकालाई दिइन्छ । स्वर्णभस्म बनाउन सुनलाई बालेर त्यसको पातलो तह निकाली शुद्धीकरण गरी विभिन्न औषधीयहरूको प्रयोग गरी आगोमा राखेर बनाइन्छ ।