विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूति सहित मानव अधिकारी रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी विराटनगरमा भएको परामर्श कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सचेत रहन आग्रह गर्दै मानव सभ्यताको निम्ति मानव अधिकारको महत्व निकै ठूलो छ भत्रुभयो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वद्र्धनमा प्रशासनले कुनै कमजोरी हुन नदिने तर्फ सचेत रहेको बताउनुभयो ।
आयोगका सहसचिव बीरबहादुर बुढामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली सेनाका उपरथी गौरवकुमार केसी र आयोगको अनुसन्धान महाशाखाका प्रमुख मञ्जु खतिवडाले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष एवं वरिष्ठ संविधान विद् काशीराज दाहालले ‘ आयोगको सिफारिश कार्यान्वयनको स्थिति’ विषयमा कार्यकपत्र प्रस्तुत गर्नु भएको थियो ।
उहाँको कार्यपत्रमा आयोग स्थापना देखि अहिलेसम्म १३ हजार उजुरी परेकोमा एक हजार ६८८ फर्छ्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिशमा १३ प्रतिशत पूर्णकार्यान्वय, ३४ प्रतिशत आंशिक कार्यान्वय र ५१ प्रतिशत कार्यान्वय नभएको उल्लेख गरिएको छ ।