दोस्रो संस्करणको एनपीएलमा विराटनगर किंग्स : चर्चित छ विदेशी खेलाडी–गतिशिल प्रशिक्षक

<span class='c1'>दोस्रो संस्करणको एनपीएलमा विराटनगर किंग्स :</span> <span class='c2'>चर्चित छ विदेशी खेलाडी–गतिशिल प्रशिक्षक</span>

विराटनगर । औद्योगिक नगर तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई प्रतिनिधित्व गर्दै यहाँका उद्योगी व्यवसायीले एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्समार्फत खेल उद्योग स्थापना गरे । यसको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ । पहिलो संस्करणमा आफ्नो टोलीको प्रदर्शनसँग लगानीकर्ता खासै चासो दिदैनन् । किनकी अंक तालिकाको छैटौँ स्थानमा रहँदै घर फर्किनु परेको विगत उनीहरुका लागि महत्वपूर्ण रहेन ।

यो संस्करणमा प्रतिनिधित्व गरेका विभिन्न आठ टिममध्ये नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको थियो । विराटनगर किंग्स उद्योग–व्यापारमा अर्बौँ लगानी गर्दै आएका सुनसरी–मोरङ औद्योगिक क्षेत्रका चार युवा उद्योगीले स्थापना गरेका हुन् । यसको उद्देश्य क्रिकेटमार्फत खेल पर्यटन उद्योगलाई बलियो बनाउने छ ।
क्रिकेटको विकासका नाममा एक वर्षका लागि करिब १० करोड लगानी भएको लगानीकर्तामध्येका एकजनाले बताए । यो फ्रेन्चाइज क्रिकेट टिममा विराटनगरका चार उद्योगी समूहले तयार गरेको म्याड स्पोर्ट्स (एमएडी) — एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनरा ग्रुपको सामूहिक लगानी छ । प्रतियोगिताको दोस्रो संस्करणमा गत वर्षको भन्दा १५–२० प्रतिशत बढी रकम खर्च हुने अनुमान गरिएको छ । यस अभियानमा नेपाली क्रिकेट टिमका पूर्व–राष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एम्याचोर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार र बैंकटेश मुन्दाडा छन् । लुनिया अरिहन्त ग्रुप, प्याकुरेल एमएम ग्रुप, पोद्दार म्याजिक ग्रुप र मुन्दाडा देवनगर ग्रुप सञ्चालक हुन् ।

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलं) मंसिर १ अर्थात सोमबार सुरु हुँदैछ । यसपटक फेरिएको स्वरूपको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरू आयोजना हुँदैछन् । मंसिर १ देखि सुरू हुने एनपीएल २७ दिनसम्म चल्ने छ । यसमा पनि विभिन्न आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

कप्तान पुरानै, भाग्यमानी प्रशिक्षक
दोस्रो संस्करणमा पनि विराटनगर किंग्स स्वदेशी स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिँदै छ । यस सिजन विराटनगरको पहिलो भेट मंसिर २ गते पोखरा एभेन्जर्ससँग हुने छ ।
त्यो पहिलो भेटदेखि नै टिमको लक्ष्य उपाधि जित्ने रहने छ । टिमका विभिन्न चार औद्योगिक लगानीकर्तामध्येका सुयस प्याकुरेलले विराटनगर किंग्स यसपटक भने उपाधिको भोक लिएर मैदानमा उत्रन लागेको प्रतिक्रिया दिएका छन् । पहिलो संस्करणको एनपीएल जनकपुर बोल्ट्सलाई जिताएका प्रशिक्षक पुबुदु दासानायके यसपटक विराटनगरको प्रशिक्षकको रुपमा हुनुपनि खेल जित्नुको आधार मानिएको छ । नेपाली क्रिकेट समर्थकबीच परिचित प्रशिक्षक दासानायकेले एनपीएल दोस्रो संस्करणमा विराटनगर किंग्सलाई सम्हाल्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व–मुख्य प्रशिक्षक समेत रहेका दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेल्न पुगेको थियो ।

एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक हुन् । नेपाल सम्मिलित विश्वकप क्रिकेट लिग–टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ । उनीसँगै श्रीलंकाकै धमिकाप्रसादले ब्याटिङ कोचका रूपमा साथ दिनेछन् ।
गत वर्ष जस्तै यसपटक पनि नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् । उनकै कप्तानीमा विराटनगर मैदानमा उत्रँदा सन्दीपसहित बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल (विकेटकिपर), शंकर राना र सूर्य तामाङ लगायतका स्थानीय खेलाडी छन् ।
विराटनगरले भित्र्याएका विदेशी खेलाडीहरूमध्ये दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस पनि विराटनगर किंग्सको जर्सीमा देखिने छन् । अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी डु प्लेसिससँग दक्षिण अफ्रिका र आईपीएलको फ्रेञ्चाइज रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी सम्हालेको अनुभव छ । विश्व क्रिकेटका चर्चित ब्याटरमध्येका डु प्लेसिसको अनुभव र नेतृत्वले टोलीलाई उपाधिको दाबेदार बनाउँदै आएको छ । यहि विश्वास विराटनगर किंग्सका लगानीकर्ताहरूले राखेका छन् ।

विदेशी स्टार खेलाडी भित्र्याउनेमा अहिले विराटनगर किंग्स सबैभन्दा चर्चामा छ । टोलीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्चेन्ट डी ल्याङ्गे, न्यूजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्याण्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । डु प्लेसिस अबुधाबी टी–१० मा ‘भिस्टा राइडर्स’सँग अनुबन्धित खेलाडी हुन् । यो टी–१० नोभेम्बर १८ देखि ३० सम्म हुनेछ । डु प्लेसिसले नोभेम्बर ३० मा अबुधाबी टी–१० को फाइनल खेल्नुपरे विराटनगरले समूह चरणका ७ मध्ये ५ खेल खेलिसकेको हुनेछ । एनपीएल नोभेम्बर १७ मा सुरु हुनेछ र डिसेम्बर ७ सम्म लिग चरण चल्नेछ ।
डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० खेलेका छन् । टी–२० मा ३५.५३ को औसतमा १ हजार ५२८ रन बनाएका उनी सफल अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित छन् । न्यूजिल्यान्डका लिजेन्ड ओपनर ब्याटर मार्टिन गप्टिललाई यसपटक पनि विराटनगरले निरन्तरता दिएको छ । आक्रामक ब्याटिङका लागि चिनिएका गप्टिलले एनपीएलको पहिलो संस्करण पनि विराटनगरबाटै खेलेका थिए ।

एनपीएल दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई पनि विराटनगरले अनुबन्ध गरेको छ । मुन्से टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन् । उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अस्ट्रेलियाका अलराउण्डर साम हिजलेट पनि विराटनगरका अर्का विदेशी खेलाडी हुन् । साम अस्ट्रेलियाको यू–१९ टिमबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । उनले अस्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिट र होबर्ट हरिकेन्सबाट खेलेका छन् । सामले खेलहरूमा उत्कृष्ट स्ट्राइकरेटसहित प्रदर्शन गर्दै आएका छन् । उनीसँग ५०भन्दा बढी बिगब्यास लिग म्याच खेलेको अनुभव छ ।
दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे ल्याङ्गे र अमेरिकाका अलराउण्डर शुभम रन्जने पनि विराटनगर किंग्सका विदेशी खेलाडीहरूको सूचीमा छन् । यसैले अहिले विराटनगर किंग्सलाई चर्चाको हिसाबले बिजेता मानिएको छ ।

टिममा छन् यी खेलाडी
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नारायण जोशी, नरेन भट्ट, शंकर राना, सुवास भण्डारी, साहिल पटेल, श्रवण किस्कु, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डी ल्याङ्गे, जर्ज मुन्सी, साम हिजलेट, शुभम रन्जने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्