विराटनगर । चार करोड पेश्की लिएर ठेकेदार फरार भएपछि विराटनगर पश्चिमको एउटा सडक छ वर्षदेखि अलपत्र छ । डाक्टर शेखर कोइराला, तत्कालिन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र कोशी प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री केदार कार्कीले महत्व दिएर शिलन्यास गरेको सडक पूर्वाधार, छ वर्षसम्म अलपत्र भएको हो ।
विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई जोड्दै सीमा क्षेत्र रानीसम्म ९ दशमलव ३८ किलोमिटर सडकको शिलन्यास २०७७ साल मंसिरमा गरिएको थियो । पूर्वाधार विकास कार्यालय मोरङको २९ करोड ६३ लाख ९ हजार ५६६ रुपिँया लागतमा सडक निर्माणका लागि जनकपुरस्थित देव एण्ड सायर आईएसएनबी जेभीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्षसम्म काम नै थालिएको छैन । जबकी सडक निर्माण सम्पन्न गर्नुपर्ने मिति २०७९ असार ३ गतेसम्म थियो ।
निर्माण म्याद गुज्रेको तीनवर्षसम्म बितिसकेको छ । निर्माण कम्पनी देव एण्ड सायर आईएनएनबी जेभीका सन्तोष यादवले चार करोड पेस्की लिएपछि अहिलेसम्म सम्पर्कविहीन बनेका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख षडानन्द कुसवाहका अनुसार अहिले स्थानीयले यस विषयमा अख्तियारको समेत ध्यानाकर्षण गराएका छन् । त्यसपछि पेस्की बुझेर फरार भएका यादवको खोजी गर्दा फेला पार्न नसकिएको प्रमुख कुसवाह बताउँछन् ।
हामीले सम्बन्धित निर्माण व्यवसायीसँग सम्पर्क गर्न सकेनौं, त्यसपछि अर्का पार्टनर निर्माण व्यवसायीसँग कुरा गरेर बोलाएका छौं, कुसवाहले भने–उहाँले आउछु भन्नुभएको छ । देव एण्ड सायरको यादव फरार भएपछि आईएसएनबीका बासु उप्रेतीलाई कार्यालयले सम्पर्कमा आउने भनेको हो ।

निर्माणमा जोइन्ट भएका दुई कम्पनीमध्ये एउटा भागेमा अर्कोले काम गर्नुपर्ने हुन्छ । स्थानीयले यस विषयलाई चासो दिदैं अख्तियार र स्थानीय प्रशासनसहित ठेक्का लगाउने कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् ।
विराटनगर महानगरपालिकाको पश्चिम क्षेत्र विकासमा ओझेल परेको भन्दै वडा नम्बर ५, ६, ११ र १२ को झङडाही (उराँव टोल) कारखाना टोल हुँदै ब्रम्हपुरासम्मको यो सडक हतारमा शिलन्यास गरिएको आरोप पनि थियो । निर्वाचनलाई लक्षित गर्दै सडक शिलन्यास गरिएका कारण पनि ठेकेदारले दवावमा रकम निकासा गराएर फरार भएको भनाई छ । सम्झौता २०७७ असारमा गरेर मंसिरमा शिलन्यास गरिएको सडक निर्माणका लागि ६ करोड रुपिँया बिनियोजन गरिएको थियो । बिनियोजनमध्ये चार करोड पेस्की बुझेर गएका ठेकेदार यादव अहिलेसम्म फर्केका छैनन् ।
विराटनगर–४ का उत्तम दाहालका अनुसार अहिले राज्यका निकायलाई गुहार मागेपछि निर्माणको सुरुवात गर्ने आश्वासन पाएको बताउँछन् । दाहालसहित त्यस क्षेत्रका स्थानीयले यो सडक निर्माण सम्बन्धी आवाज उठाएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमा महत्व दिएर शिलन्यास गरेको सडक छ वर्षसम्म अलपत्र हुँदा पनि नेतृत्वमा हुनेहरुले भने चासो राखेका छैनन् । यसबीचमा त्यहि क्षेत्रका प्रदेशसभा सदस्य केदार कार्की मुख्यमन्त्री समेत हुँदा समेत आफैंले शिलन्यास गरेको सडक बारे चासो नराखेको गुनासो स्थानीयको छ ।
यो सडकलाई कोशी राजमार्ग वैकल्पिक सडकको रुपमा परिभाषित गरिएको थियो । विराटनगरको पश्चिम क्षेत्रका वडाहरुलाई सीमासम्म सहज पहुँच पु¥याउने लक्ष्यका साथ सडक निर्माणको योजना तयार पारिएको थियो । प्रदेश सरकार अन्तर्गत पूर्वाधार कार्यालयको योजना भएपनि कार्यन्वयनमा भने कसैले चासो नदिएको हो । केन्द्रभागमा ७ मिटर चौडाई स्पाल्ट कालोपत्रे गर्ने योजनामा उल्लेख छ । त्यसपछि सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर सडकको रुपमा स्तरोन्नती गर्ने काम सुरु गरिएको थियो । अहिले नहरको धेरै क्षेत्र कालोपत्रे भइसकेको छ । नहर लालबाबु पण्डित मन्त्री हुँदाको योजनामा परेर कालोपत्रे गरिएको हो ।