विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको धारणा राखेको मुस्लिम अगुवाहरूले बताएका छन् ।मोरङ मुस्लिम समुदायले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्ति धर्म विशेष लक्षित रहेको बताएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले गत मंसिर ९ गते लैंगिक हिंसा विरुद्धको अभियान उद्घाटनका क्रममा आफ्ना धारणा राखेकी थिइन् ।
जुन यस्तो थियो–
मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ–जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ । कतिमा उद्धार पनि छ ।
पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी थियो ।
आर्यनहरू आइसकेपछि आर्यनहरूको कल्चर एकदमै उदार र राम्रो थियो । जब मुसलमानहरूले हमला गर्न थालेपछि उनीहरूले सात वर्षको बच्चाको विवाह गर्ने र अरू कुराहरूलाई पनि संकीर्ण बनाउँदै बनाउँदै लगे भन्ने छ । धर्मले महिलालाई सताउ, पीडा देउ भनेको छैन ।
यो भनाई असंवेदनशील, संकीर्ण र तथ्यगत रूपमै गलत भएको मुस्लिम अगुवाहरुले बताएका हुन् । मोरङ मुस्लिम समुदाय अगुवा जरिना खातुनले प्रधानमन्त्री तथा पूर्वप्रधानन्याधीशबाट यस्तो अभिव्यक्तिको अपेक्षा नगरेको गुनासो गरिन् । उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त भनाई फिर्ता लिन पनि प्रधानमन्त्रीलाई आग्रह गरिन् । ।