प्रेम देवान
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई साढे २४ लाख बराबरको सिसि क्यामारा सहित उपकरण प्रदान गरिएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा क्षति भएको विराटनगर महानगर भित्रका सिसि क्यामारा तथा त्यसको सर्भर मर्मत सम्भारको लागि आवश्यक उपकरण प्रदान गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरका उद्योगी–व्यवासयीको छाता संघ तथा सिसि क्यामराको सप्लाई गर्दै आएको प्लाजा सेल्स विराटनगरले मोरङ प्रहरीलाई सो रकम बराबरको उपकरण प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार एक कार्याक्रमको आयोजना गरी सिसिटिभी क्यामारा २९ थान, प्याच कर्ड ५४ थान, पावर एडेप्डर २७ थान, मिडिया कभर्टर १२ जोडी, फाईबर केवल २४५ मिटर लगायतका उपकरणहरु प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाललाई प्लाजा सेल्स विराटनगरका प्रमुख अभिलाश वंशल र चाईनाका प्रतिनिधी डोजन जाईले सो सामाग्रीको सम्झौता पत्र सहितको युनिभ्यू ब्राण्डको सिसिटिभीको सर्भिलेन्स प्रदान गरेका थिए ।
यसका लागि मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश , नेपाल वाणिज्य महासंघ कोशी प्रदेश लगायत प्रतिष्ठित उद्योग व्यावसायिक संघ सस्थाहरुबाट साढे १० लाख बराबरकोे सहयोग रहेको छ । त्यसैगरी नेपालका लागि युनिभ्यू सिसि टिभी उपकरण सामाग्री आयातकर्ता प्लाजा सेल्सले १४ लाख बराबरको अत्याधुनिक सिसिटिभीका उपकरणहरु प्रदान गरेको हो ।

विराटनगर महानगरदेखी बुढीगंगा सम्म १५६ वटा मध्ये १२२ वटा सिसि टिभीमा क्षति पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कवित कट्वालले सिसिटिभी तथा तीनको उपकरण ग्रहण गर्दै अति आवश्यक परेको वेला सहयोग गर्ने सहयोगी दाताहरुलाई विशेष धन्यवाद प्रदान गरे । एसपी कट्वालले भने, यसले गर्दा जेन्जी आन्दोलनपछि असुरक्षित महशुस हुदै आएको विराटनगर बजार अब आम नागरिकहरुले सुरक्षाको महशुस गर्न पाउने भएका छन् । त्यसैगरी प्लाजा सेल्सका प्रमुख अभिलाश वंशलले नेपालभर सुरक्षा समाधानलाई सृढृढ बनाउने लक्ष्य सहित मोरङ प्रहरीलाई पनि अनुसन्धानमा सहयोग पुगोस भनेर सिसिटिभीका उपकरण प्रदान गरिएको बताए ।