विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङ र धनकुटाका दुई प्रहरी कार्यालयलाई कम्प्युटर सहयोग गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय भेडेटारलाई एक–एक थान आधुनिक कम्प्युटर हस्तान्तरण गरेको हो ।
संस्थाका संस्थागत सामाजिक विकास विभाग प्रमुख शिवकुमार रामले मोरङ प्रहरी प्रमुख कबित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे । इलाका प्रहरी कार्यालय भेडेटारलाई संस्थाकी कोशी प्रदेश प्रमुख सावित्रीदेवी श्रेष्ठले कम्प्युटर हस्तान्तरण गरिन् ।

गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीका प्राविधिक उपकरणमा क्षति पुगेको थियो । प्रहरी कार्यालयको दैनिक सेवा प्रवाहमा सहजता ल्याउन कम्प्युटर सहयोग गरिएको विभाग प्रमुख रामले बताए । कम्प्युटर ग्रहण गर्दै मोरङ प्रहरी प्रमुख कटवालले प्रहरीको सेवा प्रवाहलाई छिटो र छरितो बनाउन मद्दत पुग्ने बताए ।