विराटनगर । अंग्रेजी र सामाजिक विषयमा स्नातकोत्तर गरेका ४२ वर्षीय सम्शेर बहादुर भण्डारीले निजी विद्यालयका धेरै विद्यार्थीलाई पढाइ सकेका छन् । विद्यालयमा शरद सरले उनी सुपरिचित मानिन्छन् । किनकी उनको विद्धता र शिक्षण विधी उत्कृष्ट मानिन्थ्यो । कलिलो उमेरमै मोरङको रतुवामाई नगरपालिका–६ शंकरटोलबाट प्रगतीका पाइला चालेका उनै शरद सर २०७८ सालयताको दैनिकीमा क्रमशः सुस्त बन्दै गएका छन् ।
कारण, उनको किड्नीमा समस्या । समस्या देखिएपछि काठमाण्डौंको किष्ट हस्पिटलबाट सुरु भएको उपचार यात्रा दिल्लीको म्याक्स र मेदान्तसम्म पुगिसकेको छ । त्यस बाहेक विकल्पमा पूर्णियाको अनुपमा अस्पताल समेत लगेको उनकी श्रीमती डीना गौतम बताउँछिन् । तर, अहिले किड्नी ड्यामेज भइसक्यो । डायलासिशले काम गर्ने स्थिति नभएपछि अब ट्रान्सप्लान्ट गर्नुपर्ने स्थितिमा पुग्यो । तर, उनको स्वास्थ्य असाध्यै कमजोर बन्यो । अब उनी पढाउन जान नसक्ने भए ।
भर्खरै भारतमा उपचार गराएर फर्केका उनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । अहिले मोरङ सहकारी अस्पतालमा राखिएको छ । अब किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि भने उपचार खर्चको अभाव भएको श्रीमती डीना सुनाउँछिन् । डीना पनि पेसाले शिक्षक नै हुन् । उनी नेपाली विषयको ज्ञान राख्छिन् । शरद र डीना इटहरी–८ स्थित कञ्चनजंगा स्कुलका शिक्षक हुन् । तर, श्रीमान बिरामी परेपछि उनको पनि शिक्षण दैनिकी रोकिने स्थितिमा पुगेको छ ।
‘यतिन्जेल हामीले कमाएकोले धान्यो, पाँचवर्ष धानेपछि अब हामीसँग विकल्प सकियो’ डीनाले भनिन्–श्रीमान बचाउन सहयोग माग्नुपर्ने स्थितिमा पुगें । तर, उनीसँग आसा पनि जीवित छ । किनकी आफ्ना श्रीमान विद्यार्थीका लागि प्रिय सरद सर हुन् । उनको अध्यापनयात्रा पनि छोटो र सिमित छैन । उनले सिराहाको सगरमाथा बोर्डिङ, विराटनगरका निजी विद्यालय हुँदै अहिले इटहरीमा पढाइरहेका हुन् । केहिदिन अगाडी दिल्लीबाट इटहरी फर्केपछि उनलाई भेट्न उनका विद्यार्थी पुगेका थिए । उनीहरुले आफूहरुले अभियान चलाएर भएपनि आर्थिक सहयोग जुटाउने आस्वासन भने दिएका छन् ।
तर, किड्नी ट्रान्सप्लान्ट गर्न ३० लाख भारु लाग्छ । यदि सरद सरको जीवन रक्षा गर्ने हुँदा यो सहयोग विद्यार्थी मात्रै उपलब्ध गराउन सक्ने अवस्था छैन । त्यसैले पनि आफ्ना श्रीमानको उपचारका लागि डीना अहिले उपचार खर्च जुटाउन लागिरहेको सुनाउँछिन् । भन्छिन्–उहाँको स्वास्थ्य राम्रो भए महिनाको ६०–७० हजार कमाउन सक्नुहुन्छ । तर, स्वास्थ्य बिग्रेपछि न उहाँले काम गर्नसक्नु हुन्छ न त मैले । डीनाले घरको अवस्था बारे सम्झँदै भनिन्–हामी विवाहपछि दुईजना मात्रै छौं । सन्तानको चाहना हुँदाहुँदै पनि स्वास्थ्यले साथ दिएको छैन ।
सहयोगका लागि
९८०४०५१३६१
