विराटनगर । नेपाली काँग्रेस मोरङले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रबाटै नाम सिफारिस गरेको छ । जेनजी आन्दोलनपछि आगामी निर्वाचनमा पुराना नेता विदा गर्नुपर्ने आवाज उठिरहेका बेला भने काँग्रेसले पुरानै नेताको नाम सिफारिस गरेको हो । कारण, काँग्रेसले उम्मेदवार सिफारिस गर्दा नयाँ मापदण्ड तोकेको छ । जुन मापदण्डमा नयाँ वा युवा उमेरका राजनीतिक नेताहरु सिफारिस सूचीमै पर्नबाट बन्चित बनेका हुन् ।
पार्टीले प्रदेश वा स्थानीय तहका पदमा वहाल रहेका व्यक्तिहरुलाई सिफारिस गर्न नमिल्ने मापदण्ड बनाएको छ । जसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहेर पनि उमेदवार हुनबाट रोकेको छ । यदि उमेदवार हुँदा पनि राजीनामा दिनुपर्ने स्थिति आउँछ । त्यहि भएर स्थानीय तथा प्रदेशसभा निर्वाचन अगाडी नै प्रतिनिधिसभा निर्वाचन हुँदा धेरैको अवसरमा ताला लागेको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नसक्ने संभावना रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नै हुन् । यीमध्ये कार्कीले आफ्नो क्षेत्रमा डाक्टर शेखर कोइराला उठ्दासम्म बोल्ने आँट गर्दैनन् । त्यस बाहेक पराजुली विराटनगर महानगरपालिकाको मेयरपछि प्रदेशको आकांक्षी नभई प्रतिनिधिसभाको आकांक्षी हुने अघिल्लो पटक नै गरेका व्यक्ति हुन् । तर, प्रतिनिधिसभामा नपाउने भएपछि उनले क्षेत्रनम्बर ४ मा प्रदेशसभा सदस्यको रुपमा चित्त बुझाएका थिए ।
धेरै सन्तुन्ष्ट नदेखिएका उनले यो बीचमा खासै केहि पनि गरेनन् । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भने भित्रभित्रै गरिरहेका थिए । यस पटक बीचमै निर्वाचन हुँदा उनको उमेदवार बन्ने दाउ उल्टियो । यसैगरी क्षेत्र नम्बर ५ मा अमृत अर्याल प्रतिनिधिसभा निर्वाचनका बलिया दावेदार हुन्थे । उनले पछिल्लो समय तयारी पनि गरिरहेका थिए । यसैगरी स्थानीय तहमा काम गर्न गाह्रो मानिरहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले पनि उमेदवार बन्ने संभावना भएर पनि अवसरबाट बन्चित भए । उनले अहिले जिल्ला सभापतिको तयारी गरिरहेका छन् । दिनदैनिक नागरिकसँग जोडिएर काम गर्नुपर्ने विराटनगर महानगरपालिकाको मेयर रहेका कोइराला पनि आफ्नो अनुकुल हुने गरी निर्वाचनको तयारीमा बिहानबिहान चिया पसलसम्म पुगेर कार्यकर्ता भेटिरहेका छन् ।
तर, काँग्रेसल १० बुँदे मापदण्ड बनाएपछि यी सबै रोकिए । पार्टी पदमा रहेकाहरू उम्मेदवार बन्न नपाउने व्यवस्था छ । त्यस बाहेक पदाधिकृत रूपमा जिम्मेवारीमा रहेका व्यक्तिहरूले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन नपाउने, २०७९ को समानुपातिकतर्फबाट निर्वाचितहरूलाई २०८२ को समानुपातिकमा टिक्ट नदिने प्रावधान, २०७९ स्थानीय तहमा जितेका जनप्रतिनिधि पुनः उम्मेदवार बन्न नपाउने व्यवस्था, स्थानीय तहबाट निर्वाचितहरूलाई यसपालि सिफारिस गर्न नपाइने प्रष्ट उल्लेख छ, जसले धेरै नाम क्युट भयो ।
यी हुन् काँग्रेसका मोरङबाट सिफारिस
प्रतिनिधि सभा निर्वाचनमा मोरङका ६ क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ र ६ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । त्यस बाहेक क्षेत्रमा एकभन्दा बढीको नाम सिफारिस भएको छ । कोशी प्रदेशको सवैभन्दा धेरै निर्वाचन क्षेत्र मोरङमा छ । नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार निर्वाचन क्षेत्रीय समितिले नाम पठाईसकेको हो । क्षेत्रीय समितिले कम्तिमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ ।
नम्बर १ बाट मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूको नाम एक नम्बरमा सिफारिस भएको छ । त्यस्तै प्रदेश समितिका सहमहामन्त्री खड्गबहादुर फागोको नाम सिफारिस छ ।
क्षेत्र नम्बर २ बाट कोशी प्रदेश सभाका पूर्व सांसद शिवनारायण सिंह र प्रतिनिधि सभाका पूर्व सांसद डा. मीनेन्द्र रिजालको नाम सिफारिस भएको छ । यसैगरी महिलाबाट नारायणीदेवी पण्डितको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सुनिलकुमार शर्माको एकल नाम सिफारिस गरेको छ त्यसैगरी, क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा महेश आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस भएको छ । आचार्यसँगै गुरुराज घिमिरे, दिलिप गच्छदार र बिनोद बस्नेतको नाम सिफारिस भएको छ । महिलातर्फ दुर्गा कोइराला भट्टराईको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ५ मा राजेश गुप्ता, हसन अन्सारी, फुलकुमार लालवानीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ६ बाट डा.शेखर कोइरालाको नाम एकल रुपमा सिफारिस गरिएको छ ।