विराटनगरका सिसी क्यामरालाई जुट्यो स्रोत, उतिकै महत्वको ट्राफिकलाइट ओझेलमै

<span class='c1'>विराटनगरका सिसी क्यामरालाई जुट्यो स्रोत,</span> <span class='c2'>उतिकै महत्वको ट्राफिकलाइट ओझेलमै</span>

सोनु साह
विराटनगर । विराटनगरमा लामो समयको प्रतिक्षापछि ट्राफिक लाइट जडान गरिएको थियो । यसको उपयोग गरेको वर्ष नबित्दै गत भदौ २४ गते जेनजी आन्दोलनको निशानामा परे । ट्राफिक लाइट मात्रै हैन, सिसी टिभीको नामोनिशान मेटिदिए । बढ्दो सूचना–प्रविधिसँगै अपराधमा नयाँपन देखिदो छ । त्यसैले सहरको सुरक्षाका लागि ट्राफिकलाइट र सिसी टिभी पनि अनिवार्य छन् ।

तर, भदौदेखि सिसी टिभी न ट्राफिक लाइट निष्क्रिय हुँदा अपराध अनुसन्धानमा प्रहरीलाई सकस परिरहेको छ । पछिल्लो समय सिसी टिभीका लागि निजी क्षेत्रले प्रहरीलाई मन फुकाएर सहयोग गरेका छन् । तर, सवारी दुर्घटना न्यूनीकरणका लागि कामयाव भएको ट्राफिक लाइट जडानका लागि स्रोतको व्यवस्थापन अझै ओझेलमा छ । जेनजी आन्दोलनका क्रममा विभिन्न चोकहरूमा जडान भएका ट्राफिक लाइटहरू तोडिए । त्यसपछि विराटनगरका सडकमा दुर्घटना बढेका प्रशस्त उदाहरण छन् ।

जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार विराटनगर रोडशेष चोक, घाँसचौक, बरगाछी चोक, कन्चनबारी चोक, तीनपैनी चोक लगायतका स्थानमा पैदल यात्रु जेब्राक्रस लाइट, टाइमिङ लाइट, पोलका तार, ब्याट्री, इन्भर्टरदेखि एमसीबी र स्विचबोर्डसम्म क्षतिग्रस्त अवस्थामा छन्। जलजला चोकमा पनि जेब्राक्रस लाइट फुटाइएको छ ।
ट्राफिक लाइट सञ्चालनमा नआएपछि मुख्य चोक–चौराहामा प्रहरीलाई म्यानुअल रूपमा सवारी सञ्चालन गर्नुपर्ने बाध्यता बढेको छ। जसका कारण भीडभाड, सवारी जाम तथा पैदल यात्रुका लागि जोखिम पनि उच्च स्तरमा पुगेको छ। यति मात्रै हैन, यस्तो प्रविधि भएको युगमा ट्राफिक प्रहरी सडकमा उभिएर सवारी पास गराइरहेको दृष्यले दशवर्ष पछाडी फर्काएको अनुभूत गराउँछ ।
ट्राफिक लाइट नहुँदा दुर्घटना बढेको चालकहरूले बताएका छन्। म्याजिक चालक सागर तामाङका अनुसार, “लाइट चलेका बेला दुर्घटनाको जोखिम कम थियो । अहिले त दिनहुँजसो कुनै न कुनै दुर्घटना देखिन्छ।” स्थानीय हेमराज शर्माले महिनैपिच्छे दुर्घटना हेर्नु परेको बताउँदै, “ठेला लिएर बाटो हिँड्दा पनि मन डराएर हिँड्नुपर्छ,” भने।

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार ट्राफिक लाइट नभएकाले भिड व्यवस्थापनमा धेरै चुनौती बढेको छ। “स्पिड नियन्त्रण गर्दै दुर्घटना न्यून बनाउने मुख्य उपकरण नै ट्राफिक लाइट हो,” उनले बताए। उनका अनुसार मर्मतका लागि करिब १० देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि विराटनगर महानगरपालिका तथा कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय भइरहेको उनको भनाई छ ।

विराटनगर महानगरका शहरी विकास पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले सञ्चालनमा भर्खरै आएको ट्राफिक लाइट पुनःमर्मत गर्नुपर्ने स्थितिमा पुगेपछि त्यसका लागि बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था आएको बताए । तर, यो विषयमा महानगरपालिका गम्भीर रहेको उनको भनाई छ । महानगरपालिकाले पुसमा गर्ने नगरसभाबाट ट्राफिक लाइट व्यवस्थापनका लागि बजेटको प्रवन्ध मिलाउने तयारी भने गरिरहेको छ ।

यसअघि विराटनगर महानगरपालिकाले पाँच प्रमुख स्थानमा ट्राफिक लाइट जडान गरेको थियो भने प्रदेश सरकारले बरगाछीमा स्थापना गरेको थियो। तर आन्दोलनपछि ती सबै लाइट निशानामा परे। महानगरभित्रका सिसिटिभी क्यामेरासमेत तोडफोड भए पनि निजी क्षेत्रको २४ लाख सहयोगमा पुनः सञ्चालनमा आएका छन्। तर करिब १० लाख खर्चमा मर्मत गर्न सकिने ट्राफिक लाइट अझै सञ्चालनमा ल्याउन सकिएको छैन । ट्राफिक लाइटको मर्मत समयमै नभए दुर्घटना बढ्दै जाने र जनजीवन थप जोखिममा पर्ने भन्दै स्थानीयवासीले निजी संघ–संस्थासमेतले सहयोग गर्नुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्