सोनु साह
विराटनगर । विराटनगर–९ स्थित अति व्यस्त गुद्री बजारमा बनाउने भनिएको ‘ग्रिनरी पार्क’ शिलन्यास भएको साढे छ वर्षसम्म पनि बनेन । व्यापार गरेर बसिरहेका व्यापारी हटाएर खुल्ला चौरमा रुपान्तरण भएको थियो । बजार आउनेका लागि सवारी रोक्न सहज थियो । तर, पार्क बनाउन भन्दै स्रोत व्यवस्थापन गरेर शिलन्यास गर्न जुन हतार देखिन्थ्यो, त्यसको तुलनामा यसको निर्माणको चासोमा अहिलेसम्म ध्यान सुस्त देखिदै आएको हो ।

अहिले पूर्ण रूपमा अव्यवस्थित र उपेक्षित बनेको छ। विराटनगर महानगरपालिकाले करिब ७० लाख रुपैयाँ विनियोजन गरेपछि २०७६ साल जेठ १५ गते डाक्टर शेखर कोइराला, केदार कार्की र भीम पराजुलीले शिलन्यास गरेका थिए । योजनाअनुसार ‘ए’ र ‘बी’ प्लटमा रहेको १ कठ्ठा १६ धुर खाली जग्गामा आधुनिक पार्क निर्माण गर्ने अवधारणा अघि सारिएको थियो। त्यसका लागि नेपाली कांग्रेस प्रदेश सांसद केदार कार्कीले संसद विकास कोषबाट ४८ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले ७० लाख स्रोत व्यवस्थापन गर्ने भनिएको थियो । त्यस बेला भीम पराजुली महानगरपालिकाका मेयर रहेका थिए ।

तामझामका बीच शिलन्यास गर्न हतार देखिएपनि पार्क बनेन । अहिले पार्क क्षेत्र फोहोरको थुप्रो, प्लास्टिक गिलास, बियरका बोतल र कुहिएको फलफूलले भरिएको छ। निर्माणको क्रममा बनाइएका सार्वजनिक शौचालयको कोठा त छ, तर शौचालयमा आवश्यक पेन तथा कोमोड नजोडिँदा मलमूत्रको पोखरी बनेको छ । पार्क वरिपरि नै जथाभावी मलमूत्र त्याग गर्ने क्रम पनि बढेको छ । यसले बजार आएकाहरू र स्थानीय बासिन्दालाई दैनिक सास्ती बढाइदिएको छ।
स्थानीय ललित यादव भन्छन्, “सानो पार्क चलाउन नसक्नु स्थानीय तहका जनप्रतिनिधिको कमजोरी हो । पैसा मात्र खर्च हुने नाममा शिलान्यास भएको जस्तो देखिन्छ।” वडा–९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले भने निर्माण कार्य अघि नबढेको स्वीकार गर्दै आगामी एक–दुई दिनमै टेन्डर खुल्ने तथा बाँकी काम—सार्वजनिक शौचालय, बगैँचा तथा संरचना—पूरा गर्न महानगरसँग समन्वय भइरहेको बताए।
गुदरी पार्कमा फुलबारी, विश्रान्ती स्थल, पानीको फोहरा, फ्रि–वाईफाई, लाइटिङ प्रणालीसहित आधुनिक संरचना बनाइने लक्ष्य थियो। लागत अनुमान १ करोड ८ लाख रुपैयाँ रहेको पार्कलाई बजार आउने उपभोक्ताको आराम र सुरक्षालाई ध्यानमा राखेर ‘ग्रिनरी पार्क’को रूपमा उपयोग गर्ने योजना थियो। तर निर्माण कार्य अधुरै हुँदा गुदरी बजारको मध्यभागमा रहेको यो क्षेत्र अहिले ‘फोहोरमैदान’ जस्तो बनेको छ। व्यापारीहरू —गुदरी जस्तो भीडभाड क्षेत्रका लागि पार्क उपयोगी हुने भए पनि व्यवस्थापन नहुँदा उल्टै समस्याको थलो बनेको बताउँछन् ।
वडा अध्यक्ष विश्वनाथ भगतले काम थाल्ने गरी शिलन्यास गरिएपछि अख्तियारमा मुद्दा परेपछि रोक्नु परेको बताए । उनले अहिले अख्तियारले क्लिनचीट दिएकोले पार्क निर्माणको बाटो खुलेको दावी गरेका छन् । त्यसका आधारमा महानगरपालिकाले चाँडै नै ठेक्का व्यवस्थापन गर्ने तयारी गरिरहेको उनको भनाई छ ।