विराटनगर । पछिल्लो समय मोरङ जिल्लामा बालबालिका हराउने घटनामा उल्लेखनिय वृद्धि भएसँगै अभिभावक तथा विद्यालय प्रशासन चिन्तित बन्न थालेका छन् । पछिल्लो केही महिना यता मोरङ जिल्लामा बालकभन्दा बालिका बढी हराउँन थालेको तथ्यांक सार्वजनिक भएपछि अभिभावकदेखि विद्यालयसम्म सबै पक्ष चिन्तित छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चालु आर्थिक बर्ष २०८२÷०८३ को मंसिर अन्तिमसम्म ३१ जना बालक र १०४ जना बालिका हराएको निवेदन प्रहरीमा परेको छ । तर, यसमध्ये २४ जना बालक र ८७ जना बालिका फेला प्रहरीले फेला पारेर अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिनुभयो । उहाँ अनुसार, अझै पनि ७ जना बालक र १७ जना बालिका फेला पर्न बाँकी छ । यसरी हराउनेहरुमा विद्यालय जाने र आउने क्रममा हराउने गरेको पनि पाइएको छ ।
बालबालिकाको सुरक्षाबारे बढ्दो चिन्ताबीच विराटनगरका धेरै विद्यालयहरूले अब विद्यार्र्थीलाई विद्यालय परिसर भित्रैबाट बसमा चढाएर पठाउने गरेको विराटनगरका निजी विद्यालयका संचालकहरुको भनाई छ । कतिपय अभिभावकले त सुरक्षासम्बन्धी जोखिम बढेको भन्दै आफ्नै साथ–साथै विद्यालय पुर्याउने र ल्याउने पनि गरेका बताउँछन् । विद्यालय परिसरबाट विद्यार्थीहरु हराउने घटना नहोस भनेर विद्यालय परिसरभित्रै विद्यार्थी चढाउने र उर्तार्ने गरेको विराटनगर २ मा रहेको बुढानिलकण्ठ स्कुलका प्रिन्सीपल मणि भट्ट्राईले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘‘हाम्रा विद्यार्थीहरु एक दिन पनि स्कुल आएनन् भने हामी अभिभावकहरुलाई फोन गरि गरि साध्ने गरेको छौँ । अहिले सम्म हाम्रो स्कुलबाट विद्यार्थीहरु हराएको कुनै घटना त छैन, तर पनि हामी स्कुल र होस्टलमा बसेका विद्यार्थीहरुलाई निगरानीमा राखिरहेका हुन्छौँ ।’’
प्रहरीको अनुसन्धानले यस्ता घटनामा ‘अपहरण’ वा ‘गम्भीर अपराध’ भन्दा पनि बालबालिकाहरू आफैं मिलेर घुम्न जाने, अभिभावकलाई जानकारी नदिने जस्ता कारणबाट भएको पाइएको छ । तर, यस्ता घटनाले अभिभावकमा मानसिक तनाव बढाएको र समग्रमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको प्रहरीको बुझाई छ । जतिसुकै भएपनि विद्यालय गएका आफ्ना सन्तान साँझमा घर फर्कन्छन् फर्कदैनन् भन्ने चिन्ताले अभिभावकलाई सताउने गरेको छ । यस्तो हुँदा सानै उमेरमा साथीसंगी र संगतमा हुनसक्ने भ्रम चिर्न उनीहरुलाई मनोपरामर्श पनि घरबाटै उतिकै जरुरी देखिन्छ ।