विराटनगर । ‘२७ औं पोखरा सडक महोत्सव’ को प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पोखराका पर्यटन व्यावसायीहरु यतिबेला पुर्वी सहरमा आईपुगेका छन् । पोखरा भ्रमण वर्ष २०२५ साथै पोखरा सडक महोत्सवलाई भव्य र सव्य बनाउनको लागि उनीहरु विगत केहीदिनयता मुलुकका प्रमुख शहरहरुमा निम्ता दिन आईपुगेका हुन् ।

यसैक्रममा आईतबार पोखराका एक दर्जन बढी पर्यटन व्यावसायीहरु विराटनगरको होटल स्वगतममा आईपुगेका थिए । उनीहरुले पत्रकार सम्मलेनको आयोजना गरी आगामी पुष १३ गतेबाट १७ गते सम्म पोखरा सडक महोत्सव हुनेबारे जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पुर्वेलीलाई पोखरा आउन आग्रह गरे ।

भट्टराईले भने, पुर्वी नेपाल र पोखरासंगको सडक सञ्जाल पनि उत्कृष्ट रहेको बताउँदै बिगतमा बाटोमा हुने विभिन्न झण्झटहरु टरेको छ, अब पोखरा घुम्न आउनको लागि सहज भएको छ । पोखरालाई पर्यटकिय राजधानी शहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको समेत उनले जानकारी दिए । मौसम लगायत सबै दृष्टीकोणबाट पोखरा घुम्न यतिबेल अनुकुल भएको जनाउँदै भट्टराईले पोखरा घुम्न आव्हान गरे ।
पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गर्ने बताए ।
सडक महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने आयोजनकले जनाएको छ ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ ।
२० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।
त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले ईटहरी , धरान र विराटनगरमा आएर पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री समेत प्रस्तुत गरेका छन् ।