विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएको छ ।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएका छन् । भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि कोशीमा आन्दोलनमा घोषणा गरिएको छ । सरकार ओली अध्यक्षमा पुनः निर्वाचित भएपछि लोकप्रियताबाट डराएर षडयन्त्र रचिरहेको दावी गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कथित छानबिन आयोगले दुःख दिन खोजेको आरोप पनि लगाइएको छ । एमाले कोशी प्रदेशले २०८२ भदौ २३ र २४ गतेको घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको छ ।