विराटनगर । दुबईमा सम्पन्न ‘एसियन युथ पारा गेम्स’ अन्तर्गत टेबल टेनिस प्रतियोगितामा नेपालका लागि रजत पदक जित्न सफल स्वीकृत न्यौपानेलाई विराटनगरस्थित हिमालय दर्शन कलेजले सम्मान गरेको छ। डिसेम्बर ७ देखि १४ सम्म दुबईमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका न्यौपाने सोही कलेजमा अध्ययनरत विद्यार्थी हुन्। आज कलेज परिसरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो।

प्रतियोगिताको सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै स्वीकृत फाइनलमा पुगेका थिए । टेबल टेनिसका राष्ट्रिय खेलाडी न्यौपानेले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता प्राप्त गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले स्वीकृतको सफलताले कलेज र मुलुककै प्रतिष्ठा बढाएको बताए । उनले भने , ‘स्वीकृतले अन्तर्राष्ट्रिय स्तरमा पुगेर नेपाललाई विश्वमा चिनाउन जुन भूमिका खेल्नुभयो, त्यो हाम्रो कलेज र सिंगो विराटनगरका लागि गौरवको विषय हो। उहाँ जस्ता प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्नु कलेजको दायित्व हो र उहाँको आगामी खेल यात्रामा कलेजले सधैँ साथ दिनेछ।’ कलेजले न्यौपानेलाई खादा र माला लगाएर सम्मान गरेको थियो। विराटनगरका स्थायी बासिन्दा न्यौपानेले यसअघि पनि राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।