विराटनगर । मोडर्न एरा स्कुलद्वारा आयोजित मोडर्न एरा म्युजिकल कन्सर्ट तथा अन्तर–कक्षा नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एकल, युगल तथा सामूहिक गीत–संगीतको आकर्षक प्रस्तुति दिइएको थियो ।

मोडर्न एरा लिटल च्याम्प्सका विजेता भइसकेका दिवस न्यौपाने र अंश खनालको गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो भने दिवस न्यौपाने र रचना सापकोटाको युगल गीतमा दर्शक झुमेका थिए । कार्यक्रमअन्तर्गत आयोजित अन्तर–कक्षा नृत्य प्रतियोगिताले पनि कार्यक्रमको गरिमा बढाएको थियो। प्रतियोगिता प्रि–प्राइमरी, प्राइमरी तथा सेकेन्डरी तह गरी तीन विधामा विभाजन गरी सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यालयका ५२५ जना विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतियोगिताका प्रमुख अतिथि एसबीएससीका अध्यक्ष नगेन्द्र प्रसाद ढकाल रहनुभएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै ढकालले मोडर्न एरा स्कुलले अतिरिक्त क्रियाकलापको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।विद्यालय पक्षबाट बोल्दै प्रिन्सिपलले मोडर्न एरा स्कुलले शैक्षिक गतिविधिसँगै नृत्य, संगीत, खेलकुद तथा सिर्जनात्मक क्रियाकलापलाई विद्यार्थीको समग्र विकासको आधार मानेर अघि बढिरहेको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर हुने र भविष्यमा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल, इन्चार्ज, संगीत तथा नृत्य शिक्षकहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा प्रि–प्राइमरी, प्राइमरी तथा सेकेन्डरी तहका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।