विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले गोली चलाएको छ ।
प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा समेत लिएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०ः३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।