विराटनगर । विराटनगरका उद्योगी सुख्खा याममा बिद्युतबाट हुने समस्या सुल्झाउन सौर्य उर्जामा आकर्षित भएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुका छानामा अहिले सौर्य उर्जा उत्पादनका लागि सोलार प्यानलले छाउन थालिएको हो ।
करिडोरका एक दर्जन बढी उद्योगले सौर्य उर्जामा निर्भर हुन थालेका छन् । एशियन थाई फुड्सका सञ्चालक उद्योगी महेश जाजुले आफ्नो उद्योगमा दुई मेगावाट क्षमताको सोलार प्यान्ट जडान गरिरहेको जानकारी दिएका छन् । सोलार प्लान्टको काम धमाधम भइरहेको उनले बताए । अबका एक महिना भित्र उद्योगले दिनभरका लागि आफ्नै उर्जा खपत गर्नेछ । उद्योगी जाजुले सुख्खा याममा बिद्युत न्यून भोल्टेज, घटबढ अनि ग्राहस्थ फिडरको जरुरी पूर्ति गर्न औद्योगिक फिडरको लाइन काट्ने समस्या टार्न विकल्पमा सौर्य उर्जा अपनाएको बताएका छन् ।
नेपालका उद्योगले सौर्य उर्जा जडान गर्दा नेपालको बिद्युत निर्यातमा समेत सहयोग पुग्ने उहाँको भनाई छ । यहाँ सौर्य उर्जा जडान गरिरहेको प्राइम रिन्यूवल कम्पनीका बजार प्रवद्र्धक अमित कुमार दाहालका अनुसार एशियनसँगै सुनसरी–मोरङ औद्योगिक करिडोरका चार वटा उद्योगमा सौर्य उर्जा जडान गर्ने काम भइरहेको छ । जसमा अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलिप्याक, प्रिमियर वायर छन् । एशियन थाई फुड्समा अबका १५ दिनमा सौर्य उर्जा प्लान्ट स्थापना भइसक्नेछ । काम जारी रहेका बाँकी उद्योगमा ढेड महिनाको अवधी लाग्ने दाहालले जानकारी दिएका छन् ।
त्यसपछि करिडोरका स्वस्तिक रोलिङ, स्वस्तिक पोलिमर, स्वस्तिक राइस एण्ड दाल, लेमिनार इण्डष्ट्रिज, पशुपति आइरन एण्ड स्टिल लगायतका उद्योगमा काम थालनी गरिने भएको छ । कम्पनीका मेनेन्जर सन्जय कुमार साहका अनुसार एक मेगावाट क्षमताको सौर्य उर्जा जडान गर्दा मूल्य अभिबृद्धि (भ्याट) बाहेक ३ करोड ८० लाखदेखि ४ करोडसम्म लागत आउँछ ।
उद्योग व्यापार संघका सचिव एवं विराटनगरमा जारी विराट ट्रेड एक्स्पोका संयोजकका अमित शारडाका अनुसार अहिले व्यापार मेलामा आकर्षक भनेको सौर्य उर्जा नै रहेको छ । सौर्य उर्जामा ‘ब्लक बुकिङ’ को कुरा भइरहेको उनले जानकारी दिएका छन् । अहिलेसम्म उद्योगीहरुले ६ मेघावाटको प्लान्ट लगाउने कुरा भइरहेको छ । उनले आफ्ना चार उद्योगमध्ये दुईवटामा सौर्य उर्जा जडान गरिएको जानकारी दिए, बाँकी दुई उद्योगमा जडान गर्ने तयारीमा रहेको बताए । उद्योगी शारडाले प्रिमियर अर्गानिक्स र न्यूट्री फुड्समा सौर्य उर्जा प्रयोग भइरहेको बताए ।
विराटनगरमा चारवर्ष अगाडीदेखि नै उद्योगी सूयश प्याकुरेल सञ्चालक रहेको एमएम प्लाष्टिक उद्योगले सौर्य उर्जा खपत गरिरहेको छ । उद्योगका सञ्चालक प्याकुरेलले सौर्य उर्जा प्लान्ट स्थापना गरेपछि बिद्युत हुँदा समेत पहिले आफ्नै उत्पादन खपत हुने भएकोले उत्पादन लागत कम पर्ने बताए । सुख्खा मौसममा जलस्रोत घट्दा सौर्य उर्जा उपयोगी वैकल्पिक स्रोत बनेको छ ।
अर्को चाँहि नेपाल विद्युत प्राधिकरणले औद्योगिक रुफ टप परियोजनालाई नेट–मिटरिङ सुविधा उपलब्ध गराएको छ । उद्योगी प्याकुरेलका अनुसार उद्योगलाई चाहिने भन्दा अतिरिक्त विद्युत राष्ट्रिय ग्रिडमा पठाउन सक्ने व्यवस्था समेत रहेको छ । उद्योगहरुमा अहिलेसम्म सौर्य प्यानलबाट उत्पादन भएको बिद्युत भण्डारण नगरी ग्रीडमा लाने प्रणाली रहेको छ । यो ग्रीड कनेक्टेड प्रविधि हो । सौर्य प्यानलबाट उत्पादन भएको बिद्युत ब्याट्रिमा भण्डारण गर्ने प्रविधिलाई आइसोलेटेड प्रणाली भनिन्छ ।
उद्योग संगठन मोरङका महाप्रवन्धक चुडामणी भट्टराईले पछिल्लो समय सुख्खा यामको विकल्प मात्रै नभई ग्रीड कनेक्टेड प्रणालीमा जाने मनस्थितिमा धेरै उद्योगी छन् । आफ्नो उद्योगमा खपत हुने उर्जा आफैं उत्पादन गर्नेदेखि बढी भएको बिद्युत प्राधिकरणमा बिक्री गरेर लाभ लिन सकिने सुविधा रहेको छ । बिद्युत प्राधिकरणबाट जडान गरेको लाइन र सौर्य उर्जाबाट प्राप्त गरेको लाइनको महशुलमा प्रतियूनिट चार रुपैँया फरक पर्ने गरेको छ । प्राधिकरणलाई बुझाउनु पर्ने महशुल मै चार रुपिँया प्रतियूनिट फरक पर्ने मात्रै नभई सोलारबाट उत्पादन उर्जा प्राधिकरणले ५ रुपिँया ९४ पैसा प्रतियूनिट उद्योगसँग उल्टै खरिद गरिदिन्छ । त्यसो पनि अर्को फाइदा हुन्छ । यदि कुनै अनुदानबाट प्लान्ट लगाउने अवसर भए प्रतियूनिक ७ देखि ८ रुपिँयाले उद्योगलाई फाइदा हुने गर्दछ ।