विराटनगर । विराटनगरमा बढ्दो सिटी सफारीको संख्याका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत बिहीबारदेखि विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारी चालकहरूलाई अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउन तथा तोकिएको ड्रेसकोड लगाउनुपर्नेबारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै यो अभियानबारे जानकारी दिन बिहीबार विराटनगरमा रहेका सिटी सफारी चालकहरुलाई प्रतिनिधीमुलक बोलाएर अभियानबारे जानकारी गराएको छ ।
सडक दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । अभियानमा सिटी सफारी चालकलाई ट्राफिक नियमको पालना, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने तथा अनुशासित ढंगले सवारी सञ्चालन गर्नको यो अभियान थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताउनुभयो ।

“सिटी सफारीलाई व्यवस्थित र सुरक्षित बनाउन थालिएको सुरक्षित चालक अभियान आफुहरुको हितका लागि भएको सहभागी सिटी सफारी चालकहरुले बताए । यो अभियानले भारतबाट आउनै अवैधानिक चालकहरुलाई रोक्ने र सडक दुर्घटना न्यूनीकरणसँगै सवारी व्यवस्थापनलाई प्रभावकारी हुने उनीहरुले बताए ।
तथ्याङ्क अनुसार विराटनगरमा हाल १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा छन् । तर, तीमध्ये करिब २ देखि ३ हजार चालकसँग मात्र आधिकारिक सवारी चालक अनुमतिपत्र रहेको अनुमान गरिएको छ ।

