विराटनगर । कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधीमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजानिक–निजी साझेदारीको नमूना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोत समेत बनेको हो ।
लगानी सम्मेलन २०८२ बैशाश १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएकामध्ये भेडेटारमा वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रा.लि.ले धनकुटाको साँगुरिगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमा क्षेत्र भेडेटारमा स्काई वाक निर्माण गरेको थियो ।
कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार लगानी सम्मेलनमा यसलाई समेत सार्वजानिक निजी साझेदारी अन्तर्गत सम्झौतामा लगिएको थियो । यो परियोजना अहिले सरकारका लािग उत्पादनमुलक बनेको हो । सञ्चालनको पहिलो वर्षमा स्काई वकले सात करोड २० लाखको कारोबार गरेको छ । त्यस बाट प्रदेश सरकारलाई सेवा शुल्क वापत ३४ लाख ४८ हजार ६७५ रुपिँया र नवीकरण शुल्क वापत ६ लाख बुझाएको हो ।
यस वाहेक मनोरञ्जन कर ५ प्रतिशत स्थानीय तहमा बुझाउनु पर्नेछ । परियोजनासाँघुरीगढी र धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएका कारण राजस्व बाँडफाँड गर्नुपर्ने हुन्छ । तर, मनोरञ्जन करको ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने व्यवस्था रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कोइरालाले देशभरमै प्रदेशले अगाडी सारेकामध्ये सार्वजानिक–निजी साझेदारीको पहिलो परियोजनाबाट आम्दानी प्राप्त गरेको दावी गर्नुभयो ।
लगानी सम्मेलनमा ५१ परियोजना सम्झौता भएका थिए । जसमा नौ महिनाको अवधीमा ९ वटा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को चरणमा प्रवेश गरेका छन् । तीनवटाको परियोजना विकास सम्झौता (पीडीए) प्रक्रियामा रहेको जानकारी दिइएको छ । जेनजी आन्दोलनका कारण गत असोजमा राखिएको समिक्षा स्थगीत भएकोले सबै परियोजना बारे आगामी माघको तेस्रो हप्तासम्ममा समिक्षा गर्ने तयारीमा प्राधिकरण रहेको छ ।
बैशाखको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर (एमओयु) भएका ५१ मध्ये ५० वटा कुनै न कुनै रुपमा प्रक्रियामा बढेको निर्देशक कोइरालाले जानकारी दिनुभयो । लगानी सम्मेलनमा कृषिमा ३ अर्बका आठ वटा, उर्जा क्षेत्रमा आठ अर्ब ६२ करोडका तीनवटा, उद्योगमा ६६ अर्ब ८७ करोडका १२ वटा, पूर्वाधारमा ३८ अर्ब ४१ करोडको ९ वटा, आइटी क्षेत्रमा ४७ करोडका २ वटा, फोहोर व्यवस्थापनका दुई परियोजनाका लागि ६० करोड र पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोडको १० परियोजना थिए । जसमा निजीका १९ वटा परियोजनामा १६ अर्ब ९६ करोडको लगानी प्रतिवद्धता थियो ।
कार्यकारी निर्देशक कोइरालाका अनुसार सम्झौता भएका सबै परियोजना पाँचवर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । तीमध्ये २४ वटा परियोजनाको कागजात अध्ययन गरिसक्ने समय तीन महिना दिइएको थियो । पन्ध्रवटाको ६ महिना र १२ वटाको एकवर्षसम्ममा कागजात अध्ययन र कानुनी प्रक्रिया सक्नुपर्ने म्याद तोकिएको थियो ।
यसमध्ये लगानी सम्मेलनमा एमओयु भएको पाँच खपन हाइड्रोपावरको एक अर्ब ४२ करोड रुपिँया लगानी सुनिश्चित भएको निर्देशक कोइरालाले जानकारी दिनुभयो । यसका लागि सिदार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने गरी सम्झौता गरिसकेका हुन् । यसैगरी पर्यटन क्षेत्रमा होटल एशियाटीकको पाँच तारे स्टार प्रोजेक्टमा ९० करोडको लगानी सुनिश्चित भएको निर्देशक कोइरालाले जानकारी दिनुभयो । अर्को सुनसरीको इटहरीमा डाटा सेन्टर निर्माणको काम सम्पन्न उन्मुख रहेको निर्देशक कोइरालाले जानकारी दिनुभयो । विराटनगरमा राउत कन्ट्रक्सनले निमाण गर्ने आरआर हस्पिटल निर्माण पनि सुरु भइसकेको जानकारी दिइएको छ ।
यस बाहेक साँगुरीगढीमा सिट्रस, एभोकाडो र किबी खेतीका लागि पहिलो चरणको दश बिघा जमिन व्यवस्थापन भइसकेको र बाँकी २० बिघा प्रक्रियामा रहेको, झापामा अग्र्यानिक मलको पाइलट प्रोजेक्ट सुरु भएको जनाइएको छ । इलामको देउमाइ नगरपालिकामा कफी फर्मका लागि जग्गा व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिइएको छ ।
हालसम्म प्रस्तुत भएका परियोजनामध्ये झापामा बीग हाउजिङ्ग एण्ड कन्ट्रक्सन प्रा.लि.सँगको सम्झौताको काम कुनैपनि प्रक्रिया सुरु नभएको कोइरालाले जानकारी दिनुभयो । त्यस बाहेक विराटनगरमा पाँच अर्ब लागतको निर्माण गर्ने भनिएको पोडवेका सञ्चालक सम्पर्कविहीन भएपनि त्यसलाई खारेज गरेर नयाँ प्रक्रिया थालिएको निर्देशक कोइरालाले जानकारी दिनुभयो । कोशी पोडवे कम्पनीले सम्झौता गरेपनि यसका सञ्चालक सम्पर्कमा नआएका हुन् । तयसपछि निल भट्टराई सञ्चालक रहेको नेपाल पोडवेलाई काम अगाडी बढाउन बाटो खोलिदिइएको छ । यसमा समेत सडक विभागले राइटअफ वे अनुमति दिइसकेको जानकारी दिइएको छ ।