विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक” अभियानलाई तीव्र बनाएको छ ।

अभियान अन्तर्गत ट्राफिक प्रहरीले महेन्द्र मोरङ क्याम्पस, विराटनगरका छात्र–छात्रालाई ट्राफिक स्वयंसेवकका रूपमा परिचालन गर्दै शहरका विभिन्न स्थानमा सिटी सफारी चालकहरूलाई सचेतना दिँदै आएको छ । स्वयंसेवकमार्फत सुरक्षित रूपमा सवारी साधन सञ्चालन गर्ने तरिका, ट्राफिक नियमको पालना तथा यात्रु सुरक्षाका विषयमा जानकारी गराइँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार अभियानका क्रममा चालकहरूलाई सुरक्षित रूपमा सवारी चलाउने विषयमा प्रत्यक्ष जानकारी दिनुका साथै पर्चा–पम्प्लेट वितरण तथा सिटी सफारीमा सचेतनामूलक स्टिकर टाँस्ने कार्यसमेत भइरहेको छ ।

उनले यस अभियानले सिटी सफारी चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन आउने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ट्राफिक प्रहरीले आगामी दिनमा ट्राफिक प्रहरीले तोकेको ड्रेस कोड पनि अनिवार्य गर्ने भएको जनाएको छ ।
