विराटनगर । अनलाइन व्यापारको बहानामा अवैध कपडाको ओसारपसार गरि कारोबार गर्ने एक व्यक्ति ८३ थान साडी सहित प्रहरीले नियन्त्रमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको टोलीले सोमबार दिउँसो विराटनगर महानगरपालिका–१५ भट्टाचोकबाट ८३ थान साडी सहित एक युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–७ का २५ वर्षीय दिनेश माझी रहेका छन् ।

भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर जाँच गर्दा मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको ठूलो ब्याग फेला परेको प्रहरीले जनाएको छ। खानतलासी गर्दा ब्यागभित्र भन्सार छली नेपाल भित्राएका साडीहरू भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

प्रहरीका अनुसार साडीहरू ‘अनलाइनमार्फत बिक्रीका लागि’ भन्दै नक्कली तथा शंकास्पद बिल तयार गरिएको पाइए पनि बिल र सामानबीच कुनै मेल नदेखिएपछि अवैध कारोबार पुष्टि भएको हो। बरामद साडीको अनुमानित मूल्य २ लाख ७ हजार ५ सय रुपैयाँ र प्रयोग गरिएको मोटरसाइकलको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको छ।
बरामद सामान, मोटरसाइकल र पक्राउ परेका माझीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।