विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले–काँग्रेस गठबन्धन सरकारमा पुराना मन्त्रीहरु फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागिएको हो । मुख्यमन्त्री कार्कीले बुधबार साँझसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि भइरहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रक्रिया बढाउन पनि काँग्रेससँग आग्रह गरेका छन् । काँग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्रीबीच सहमति भएको दावी छ ।
वहालवाला मन्त्रीहरुमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् । कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
नयाँ नियुक्त हुनका लागि एमालेबाट विदुर लिङथेप आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने छन । यस्तै उमाकान्त गौतम राज्य मन्त्री हुने चर्चा छ । कांग्रेसबााट प्रदीप सुनुवार भौतिक पुर्वाधार , भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बन्दै छन् शोभा चेम्जोङ राज्यमन्त्री र इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी बन्ने बताइएको छ ।