विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारमा लापार्वाही गर्ने ठेकेदार नै मुद्दा लिएर अदालत पुगेका छन् । रतुवादेखि केशलिया अन्तर्गत (च्यानेज ३६+००० देखि ४२+०००) ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने तयारी भइरहेका बेला छवर्षदेखि काम नगरी अल्झाउने श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक विकास श्रेष्ठ पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दायर गर्न पुगेका हुन् ।
पाटन उच्च अदालतले यस अगाडी अल्पकालिन अन्तरिम आदेश दिदैं पुस २४ गतेलाई पेसी तोकिएको छ । स्थानीयको माग अनुसार कार्तिक २१ गतेदेखि यो दुरीको कामका लागि नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको छ । निर्माण कम्पनीले ध्यान नदिएपछि ठेक्का तोडिएको थियो । हुलाकी राजमार्ग रतुवा देखि केशलिया अन्तर्गत मोरङको ४४ किलोमिटर दुरी पर्दछ । जसमध्ये २०७६ सालमा दुई वर्ष भित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सनले ६ किलोमिटर निर्माण सम्झौता गरेको थियो । कटहरी गाउँपालिकाको हाटखोलास्थित सिंघीया खोलादेखि रामचौकसम्मको दुरीको अवस्था दयनीय छ ।
तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको यो छ किलोमिटरमा नयाँ ठेक्का लगाउने काम अगाडी बढाइएको छ । हुलाकी निर्देशानालय इटहरीका प्रमुख युवराज पोखरेलल अहिले स्रोत सहमति लिने काम भइरहेको जानकारी दिएका छन् । अर्थमनत्रालयबाट बहुवर्षे ठेक्का प्रक्रियाका लागि सडकसँगै सिंघीया खोलाको पुलका लागि समेत स्रोत सहमतिको प्रक्रिया बढाइएको पोखरेलले जानकारी दिए ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले अदालतबाट ठेकेदारका पक्षमा आदेश हुन आएमा सडक अझै नबन्ने संभावना बढ्ने बताए । उनले छ वर्षसम्म पर्खदा समेत काम नगर्ने ठेकेदार फर्केर आउनै नहुने बताए । निर्देशानालयका प्रमुख पोखरेलले भने सबै कागजात तयार गरेर प्रतिरक्षाको लागि तयारी पुरा गरिएको बताए ।