विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज बाहिरको एक फार्मेसीले बिरामीका आफन्तलाई ठगी गरेको घटना सार्वजनिक भएपछि नेपाल औषधि व्यवसायी संघ, मोरङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कडा कानुनी कारवाही गर्न माग गरेको छ ।
के थियो घटना ?
यस अघि आवर विराटनगरले भिडियो सहितको समाचारमा — नोबेल अस्पतालमा उपचाररत बिरामीका आफन्तलाई अस्पताल बाहिरको एक फार्मेसीले औषधि खरिदमा चरम ठगी भन्ने विषयमा समाचार प्रशारण गरेको थियो । ती व्यावसायीले आर्थिक अभावका कारण उधारोमा कारोबार गर्ने गरी पुर्जा दिएका सेवाग्राहीलाई चलाखीपूर्ण ढंगले ठगी गरेका थिए । चिकित्सकले सिफारिस गरेको पुर्जा (प्रेस्क्रिप्सन) मा उल्लेखित औषधिको संख्यामा थप अंक थपेर परिमाण बढाई बढी रकम असुलेको भन्ने समाचार आवर विराटनगरबाट बाहिरीएको थियो ।

ती व्यावसायीले ६४० रुपैयाँ पर्ने रेक्युमिड १ लेखिएको स्थानमा पछाडि ५ थपेर १५ बनाइएको र १ हजार २०८ रुपैयाँ पर्ने डेस्टिमिड १ मा ८ थपेर १८ बनाइएको भेटिएको छ । बिरामीका आफन्त सचेत भई चिकित्सकको पुर्जा र फार्मेसीले दिएको बिल भिडाउँदा यो ठगी बाहिर आएको हो । घटना सार्वजनिक भए लगत्तै अहिले फार्मेसी सञ्चालक सटर बन्द गरेर फरार भएका छन् ।
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालद्वारा जारी ध्यानाकर्षण(पत्रमा भनिएको छ, ‘विगत २०३० सालदेखि औषधि व्यवसायीको हकहित र सामाजिक कार्यमा क्रियाशील संस्थामा आबद्ध सदस्यहरूको चरित्र नै हत्या हुने गरी विभागमा समेत दर्ता नभएका केही औषधि पसलहरूले गरेको गलत क्रियाकलापका कारण सम्पूर्ण व्यवसायीहरू बदनाम हुने अवस्था सिर्जना भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’ संघले औषधि खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक औषधि पसलबाट बिल लिएर मात्र खरिद गर्न सम्पूर्ण उपभोक्ताहरूलाई आग्रह समेत गरेको छ ।