विराटनगर महानगरको एकता देशमै नमुना : मेयर कोइराला

<span class='c1'>विराटनगर महानगरको एकता देशमै</span> <span class='c2'>नमुना : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको एकता र सहकार्यकै बलमा महानगरले पछिल्ला चार वर्षमा चुनौतीपूर्ण परिस्थितिबीच पनि विकास यात्रालाई निरन्तरता दिएको बताएका छन् ।

नगरसभाको १७ औँ अधिवेशनलाई सम्बोधन गर्दै मेयर कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौं संकट र कठिनाइका बीच बिते पनि जनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलित नभएको उल्लेख गरे । ‘यो अवधि छोटो महसुस हुनुको कारण जनप्रतिनिधिहरूबीचको आपसी विश्वास, सहकार्य र एकता हो,’ उनले भने, ‘७५३ वटै स्थानीय तहमध्ये विराटनगर जनप्रतिनिधिहरूको सम्बन्ध र सहकार्यका हिसाबले कमजोर छैन, बरु राष्ट्रिय फोरमहरूमा यसको प्रशंसा हुने गरेको छ ।’

मेयर कोइरालाका अनुसार यो सौहार्दपूर्ण सम्बन्ध जनप्रतिनिधिमा मात्र सीमित नरही वडा तहदेखि महानगरसम्मका कर्मचारीहरूसँग पनि मजबुत छ, जसले संस्थागत सफलताको आधार तयार गरेको छ । बाँकी कार्यकालमा समेत यही एकता अझ मजबुत हुने उनको विश्वास छ ।
उनले एकताकै कारण भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधार आएको दाबी गरे । करिब २ अर्ब रुपैयाँ लगानीमा जाइकाको सहयोगमा सञ्चालित खानेपानी आयोजना ७० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको, सन्ध्याकालीन आरतीलगायतका ठूला परियोजना सञ्चालनको तयारीमा रहेको जानकारी गराए । स्वास्थ्य सेवातर्फ मोरङका १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पुगेको उल्लेख गर्दै रानी र बैजनाथपुर अस्पतालमा स्वास्थ्य बीमा, फिजियोथेरापी, प्याथोलोजी र बर्थिङ सेन्टरसहित सेवा विस्तार भएको बताए । साथै, देशमै पहिलोपटक विराटनगरले सञ्चालनमा ल्याएको ‘महानगर अटिजम सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण पनि बढेको उनले बताए ।

तर, सीमित स्रोत–साधनका बीच असिमित जनआकांक्षा सम्बोधन गर्नु चुनौतीपूर्ण बनेको मेयर कोइरालाले स्वीकार गरे । उनले भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा भएको हिंसात्मक घटनाबाट महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयमा आगजनी भई झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्मरण गराए । ‘यो क्षति पूर्ति गर्न हामीलाई केही वर्ष लाग्नेछ,’ उनले भने ।
आन्दोलनका क्रममा आफ्नै निजी निवास र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घरमा समेत आगजनी भएको उल्लेख गर्दै उनले जनसेवामा निरन्तर खटिँदा आफ्नै कार्यालय र घर जलाइँदा पीडा महसुस भएको बताए । आन्दोलनले भवन मात्र होइन, शववाहनदेखि जेसीबी, फर्निचर र महत्वपूर्ण कागजातसम्म नष्ट गरेको भन्दै उनले तीन महिनासम्म कार्यकक्षविनै चिया पसलबाट महानगरको काम सम्हाल्नु परेको अनुभव पनि सुनाए ।

आम्दानी घटेको र संरचना ध्वस्त भएको अवस्थामा मनोबल कमजोर हुनु स्वाभाविक भए पनि नगरसभा सदस्य र कर्मचारीलाई आत्मबल नघटाउन उनले आग्रह गरे । ‘संकटको समयमा देखाइने साहस, दृढ संकल्प र सेवाभावले नै इतिहास निर्माण गर्छ,’ मेयर कोइरालाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्