विराटनगर । विराटनगरमा रहेको किड्स भिलेज स्कुलले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ । विराटनगरको आरोहण गुरुकुलमा शनिबार आयोजित एक विशेष समारोहका बीच विद्यालयका विद्यार्थीहरुले आ आफ्नो कलाहरु प्रस्तुत गरि वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित उक्त वार्षिकोत्सव कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा बिहानदेखि दिउँसो २ बजेसम्म प्ले ग्रुपदेखि युकेजीसम्मका साना बालबालिकाहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । उनीहरूको उत्साहजनक प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

त्यसैगरी, दोस्रो चरणमा दिउँसो २ बजेदेखि साँझसम्म कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूले आफ्नो साङ्गीतिक तथा सांस्कृतिक कला प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले गीत र नृत्यमार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । विद्यालयका प्रिन्सिपल विजय दाहालले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न र उनीहरूको आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्ने उनको भनाइ थियो ।
विद्यालयका निर्देशक पंकज जैनले सञ्चालन गरेको उक्त कार्यक्रममा ठूलो संख्यामा अभिभावक, शिक्षाप्रेमी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
