सोनु कुमार साह
मधेश प्रदेशको महोत्तरी जिल्ला निबासी आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र उनकी पत्नी ध्रुवदेवी शाहका कोखबाट वि.सं. २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा बालेन्द्र शाह (बालेन) जन्मिएका हुन्। उनी डा.रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्।
बालेन शाहको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्छ भने उनको मामाघर धनुषा जिल्लाको जमुनिवास–४ मा रहेको छ। उनका हजुरबुवा मुनिलाल शाह जमिन्दार थिए। हाल पनि एकडारा गाउँमा उनका पुर्ख्यौली जमिनमा गरिब समुदायका मानिसहरू बसोबास गर्दै खेतीपाती गर्दै आएका छन्। एकडारा गाउँपालिकाको कार्यालय आज पनि बालेनको पुर्ख्यौली घरबाटै सञ्चालन हुँदै आएको छ। हाल शाह परिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा बसोबास गर्दै आएको छ।
शैक्षिक पृष्ठभूमि
बालेन शाहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। उनले आफ्नो पेशागत यात्राका क्रममा देशका ६५ वटा जिल्ला भ्रमण गरिसकेको एक कार्यक्रममा बताएका थिए।
वि.स. २०७२ सालको महाभूकम्पपछि उनले उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै समाजसेवीको रूपमा परिचय बनाएका थिए। उनले सबिना काफ्लेसँग विवाह गरेका छन्। उनकी श्रीमती पेशाले जनस्वास्थ्यकर्मी हुन्।
साङ्गीतिक यात्रा
सानैदेखि बालेनको रुचि संगीत र कवितामा थियो। उनले वि.सं. २०६९ मा ‘सडक बालक’ नामक आफ्नो पहिलो गीत सार्वजनिक गरेका थिए, जुन उनले कक्षा ९ मा अध्ययनरत रहँदा लेखेका थिए। पछिल्लो समय ‘केही दिन यता म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने उनले गाएको गीत निकै चर्चित बनेको छ।
काठमाडौं महानगरका मेयर यात्रा
र्याप र इन्जिनियरिङसँगै उनले राजनीतिप्रति पनि रुचि देखाएका थिए। विवेकशील पार्टी र साझा पार्टी विभाजनको क्रममा उनले विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए। यद्यपि उनले पार्टीको औपचारिक सदस्यता नलिएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने निर्णय गरे।
शाहले स्थानीय तह निर्वाचन २०७४ मा मतदानसमेत गरेका थिएनन्। तर वि.सं. २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। वैशाख ११ गते उम्मेदवारी दर्ता गरेका शाहलाई निर्वाचन आयोगले वैशाख १७ गते ‘लौरो’ चुनाव चिह्न प्रदान गरेको थियो। एमालेबाट केशव स्थापित र कांग्रेसबाट सिर्जना सिंह उनका मुख्य प्रतिस्पर्धी थिए। वि.सं. २०७९ जेठ १२ गते बालेन शाह काठमाडौं महानगरपालिकाका नगरप्रमुख पदमा निर्वाचित भए।
मेयरको कार्यकाल र लोकप्रियता
निर्वाचनपछि उनले काठमाडौंलाई हरित सहर बनाउने अभियान अघि बढाएका छन्। स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार, शिक्षा क्षेत्रमा कक्षा १२ सम्मका हजारौँ विद्यार्थीलाई वार्षिक छात्रवृत्ति, युवालाई लक्षित रोजगारीमूलक तालिम कार्यक्रम सञ्चालन, विभिन्न स्थानीय तहलाई एम्बुलेन्स वितरण तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई सम्मानजस्ता कामले उनी जनप्रिय बनेका छन्।
भ्रष्टाचार, क्रोनी क्यापिटलिज्म र नेपोवादविरुद्ध भएको जेन्जि आन्दोलनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा जनताले हेर्ने थाले।
मधेशमा बढ्दो क्रेज
हाल बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सहमति भएपछि उनलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ । । उनले महोत्तरी–३, काठमाडौं–२ र झापा–५ बाट उम्मेदवारी दिन सक्ने अनुमान गरिएको छ। तर उनका समर्थकहरूले उनलाई महोत्तरीबाटै चुनाव लड्न आग्रह गरेका छन्। यस विषयमा भने औपचारिक निर्णय आउन बाँकी छ।
मधेशमा बालेन शाहप्रति दिनप्रतिदिन जनआकर्षण बढ्दै गएको छ। गाउँ–गाउँ र टोल–टोलमा “अबकी बार बालेन सरकार” भन्ने नारा गुन्जिन थालेको छ। बालकदेखि वृद्धसम्म उनको नाम चर्चा भइरहेको देखिन्छ।

तस्विर : सामाजिक सञ्जाल
माघ ५ गते बालेन शाह मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ। सो अवसरमा रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह पहिलो पटक एउटै मञ्चमा देखिनेछन्। त्यसपछि माघ ६ गते झापा–५ मा कार्यकर्ता भेटघाट कार्यक्रम तय भएको छ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा पछि परेको मधेशका जनताले पुराना दलहरूप्रति आशा गुमाउँदै नयाँ विकल्पको रूपमा बालेन शाह र रास्वपातर्फ भरोसा देखाउन थालेका छन्। बालेन मधेशी मूलका भएकाले मधेशमा उनलाई विशेष माया र समर्थन प्राप्त भइरहेको छ।
मधेशसँगै कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पार्टी कार्यकर्ता , सर्वसाधारण र बालेन शाहबीच भेटघाट तीव्र बन्दै गएको छ। अधिकांश जिल्लामा बालेनको चुनावी र्याली तथा प्रचार–प्रसार बढ्दो क्रममा देखिन्छ। प्रदेशका नागरिकहरू अहिले बालेनलाई उम्मेदवारका रूपमा खोजिरहेका छन्। मधेश प्रदेशसहित अन्य प्रदेशका कार्यकर्ताहरू बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि बढाएर मत माग्न व्यस्त छन्।
बालेन शाहले आफ्नो घरदैलो अभियान पुर्ख्यौली प्रदेश मधेशबाट सुरु गर्ने र त्यसपछि झापा जाने कार्यक्रम रहेको छ। अब फागुन २१ गते हुने निर्वाचन परिणामले मधेश र देशभरिका जनताले बालेन शाह र रास्वपालाई कति माया गरेका छन् भन्ने कुरा स्पष्ट पार्नेछ।
-धन्यवाद।