विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिकी निर्वाचित सदस्य (प्रस्तावित) कोषाध्यक्ष लक्ष्मी घिमिरेले पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

आईतबार विराटनगर–१ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेकी हुन् । उनलाई रास्वपा विराटनगर नगर सभापति कृष्ण निरौलाले खादा तथा माला लगाएर स्वागत गरेका थिए।
नेपाली कांग्रेसमा करिब १२ वर्षदेखि सक्रिय रहँदै आएकी घिमिरेले पार्टीभित्र बढ्दै गएको तानाशाही प्रवृत्ति, आन्तरिक गुटबन्दी तथा आफ्नै मान्छे मात्र हेर्ने संस्कारका कारण आफू निराश भएको बताइन् । उनले भनिन्, “लामो समय योगदान दिए पनि पार्टीभित्र योग्य र इमान्दार कार्यकर्ताको कदर भएन। नेतृत्वमा तानाशाही सोच हावी भयो।”

राष्ट्रिय स्वतन्त्र पार्टीमा धारिलो सोच भएका युवा, स्वच्छ राजनीति र नयाँ दृष्टिकोण समेटिने भएकाले आफूले रास्वपा रोजेको घिमिरेको भनाइ छ। “देश र समाज परिवर्तनका लागि नयाँ सोच र ऊर्जावान युवाको आवश्यकता छ, त्यो सम्भावना रास्वपामा देखेँ,” उनले भनिन् ।
कार्यक्रममा बोल्दै रास्वपा नगर सभापति कृष्ण निरौलाले घिमिरेजस्ता अनुभवी र जिम्मेवार व्यक्तिको प्रवेशले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले भने, “पुराना दलप्रति निराश भएका इमान्दार कार्यकर्ता रास्वपामा आकर्षित हुनु सकारात्मक संकेत हो।”
यता , नेपाली कांग्रेस विराटनगर सभापति दिपक चापागाईंले वहा नगर सदस्य भएको र प्रस्तावित मात्रै कोषाध्यक्ष रहेको बताए ।