विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको बाहिर खाली मैदानमा सोमबार बिहान ७ बजेदेखि आवेदन दिएकाहरूको प्रारम्भिक छनौट सुरु गरिएको हो ।
मोरङका लागि कूल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरीको कोटा निर्धारण गरिएको छ । बढ्दो भिडभाडलाई व्यवस्थित गर्न प्रहरीले छनौट प्रक्रियालाई दुई सिफ्टमा विभाजन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीका अनुसार आज पहिलो दिन दर्ता नम्बर १ देखि १६ सय ५० सम्मका आवेदकहरूको परीक्षा लिइँदैछ । पहिलो सिफ्ट (बिहान ७ देखि ११ बजेसम्म) दर्ता नम्बर १ देखि ७५ सम्मका आवेदकहरू सहभागी भएका छन् । दोस्रो सिफ्ट दिउँसो १२ देखि ५ बजेसम्म) दर्ता नम्बर ७५१ देखि १६ सय ५० सम्मका आवेदकहरूको छनौट गरिँदैछ ।

पहिलो दिन १६ सय ५० जनाको परीक्षा सम्पन्न भएपछि बाँकी रहेका आवेदकहरूलाई क्रमशः दर्ता नम्बरका आधारमा आउँदो दिनहरूमा छनौट प्रक्रियामा सामेल गराइने मोरङ प्रहरीले जनाएको छ ।