विराटनगर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । यो समुदायको संसदमा आधिकारिक प्रतिनिधित्वको रुपमा सुनिल बाबु पन्त संविधानसभा सदस्य बनेबाहेक अर्को व्यक्तिले संसद टेकेका छैनन् । त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उमेदवारी दिइएको हो ।
पार्टी अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दर्ता गराएकी नुमा लिम्बुका अनुसार काभ्रेपलाञ्चोक (१) मा बिनोद लामा, ओखलढुंगा (१) पिंकी राई, रपेन्देही (२) देवेन्द्र बहादुर खत्री, काठमाण्डौं (१०) पूर्णचन्द्र पौडेल, काठमाण्डौं (१) सुरेन्द्र पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।
समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह श्रीवत्स रहेको संविधासभा सदस्य सुनिल बाबु पन्तले जानकारी दिएका छन् । यो पार्टीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय जीवनको संघर्ष, समाजको बहिष्करण र पहिचान अभावमा अहिले पनि लडिरहेकोले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरुले समेत सहयोग गर्नुपर्ने माग गरेको हो ।
‘देखेको, भोगेको र सिकेको अनुभवहरुले अझै बलियो बनाईरहेको छ’ पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बुले भनिन–त्यहि भएर छुट्टै पार्टी गठन गरेर मतदातामार्फत हाम्रो मत केन्द्रीत गर्न गइरहेका छौं । संसदमा प्रतिनिधित्व अभाव अधिकार, अस्तित्व र भविष्यसँगको अमान्य हुनु हो, लिम्बुले भनिन्–प्रमुख राजनीतिक दलहरुले हाम्रो समुदायलाई वेवास्ता गर्न मिल्दैन ।
तेस्रोलिङ्गी महिला लिम्बुले आफ्नो पार्टीले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरित कुनैपनि कार्य नगर्ने बताउँदै लोकतन्त्रमा अधिकार प्रयोग गर्न उमेदवारी दिएको बताइन् । राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार देशभरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या तीन हजार हाराहारी मात्रै रहेको देखाइएको पन्तले जानकारी दिएका छन् । तर, देशभरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संख्या गणना गर्दा छुट्न गएको उनको दावी छ । पन्तले आफ्नो समुदायले मातृसत्ताको कल्पना गर्ने भएकाले झण्डा त्रिकोणात्मक रहेको बताएका छन् । संविधानसभा सदस्यको रुपमा आफूले प्रतिनिधित्व गर्दा मात्रै पनि यो समुदायका अधिकार सुनिश्चित गर्न सकिएकोले अब संसदमा प्रतिनिधित्वमार्फत कानुनमा सुधार पहल लिने बताए ।