विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलका सल्लाहकार तथा विराटनगरका समाजसेवी एवं उद्योगी देवकीनन्दन अग्रवालले मानव सेवा आश्रमका लागि भ्यान उपलब्ध गराउनु भएको छ । अग्रवालले लायन्स क्लब अफ विराटनगर सोसियलमार्फत आश्रमलाई भ्यान हस्तान्तरण गरेका हुन् । विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष लिलाकुमार ढुंगेलको उपस्थितिमा आश्रमका नवराज केसी र पार्वती तिवारीलाई भ्यानको साँचो हस्तान्तरण गरिएको हो ।
समाजसेवी अग्रवालले आफू चढ्दै आएको को १ च २३३४ नम्बरको मारुती भ्यान आश्रमलाई दान गरेका हुन् । उनले मानव सेवा आश्रम स्थापना र यसले गरेका कार्यसँग सहयोगी बन्दै आएका छन् ।
अग्रवालले उपलब्ध गराएको मारुती भ्यान सडक सहयोगी तथा सहयोगापेक्षी मानवहरुको उद्धार कार्यमा प्रयोग गरिने बताइएको छ ।
हाल विराटनगर–५ डीपीएस स्कुलपछाडि रहेको आश्रम निर्माणाधीन छ । आश्रममा ६३ जना महिलाहरुलाई तथा पोखरिया वन कार्यालयनजिकै रहेको आश्रममा ६८ जना पुरुषलाई संरक्षण गरिएको अभियन्ता केसीले जानकारी दिए ।