विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतकर्ता बढाइएको छ । निपा भाइरस संक्रमण दर उच्च रहेकोले संभावित जोखिम सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकाहरुमा सावधानी बढाइएको छ । सीमा नाकामा हेल्प डेस्कमा सावधानीदेखि अस्पतालहरुमा आइसोलेसन कक्ष तयारीसम्म थालिएको हो ।
निपा भाइरस संक्रमण देखिएमा कोरोना संक्रमणकालमा अस्पतालहरुमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बताउनुभयो । निपा भाइरस गम्भीर र खतरनाक मानिने भएकोले समयमै सचेतना कार्य थालिने भएको हो ।
जनावरबाट मानिसमा र मानिसबाट मानिमा सर्ने रोगको मृत्युदर उच्च रहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक डा.जगत नारायण प्रसादले निपा भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ताको तयारी थालिएको जानकारी दिनुभएको छ ।
संभावित जोखिमबाट बच्नका लागि प्रतिष्ठानअन्तर्गतका सेवा, विभाग, शाखा तथा इकाईहरुलाई सतर्कता अपनाउन समेत सूचित गरिएको उहाँले जानकारी दिनुभयो । ओपीडी, आकस्मिक तथा वार्ड भर्ना सेवाहरुमा निया भाइरससँग मिल्दोजुल्दो लक्षणको निगरानी प्रणाली सुदृढ गर्ने, आइसोलेसन कक्षको सुनिश्चित तथा नमूना संकलन, सुरक्षित ढुवानी र परीक्षणको लागि पूर्व तयारी थालिएको हो ।
यसैगरी निपा भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी वा स्पष्ट कारण नखुलेको व्यक्तिको मृत्युपछि समेत नमूना संकलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउन निर्देशन गरिएको निर्देशक डा.जगत नारायण प्रसादले जानकारी दिनुभयो ।
यता कोशी अस्पताल विराटनगरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रामनारायण चौधरी सतर्कता विशेष ढंगबाट अपनाउने तयारी भएको बताउनुभयो । तर, अहिले कोशी अस्पताल भित्रै आइसोलेशनको सुविधा निपा भाइरसका लागि उपलब्ध हुननसक्ने स्थिति रहेको जानकारी दिनुभयो । अस्पतालको नयाँ संरचना बनिनसकेको र पुरानो संरचना अपर्याप्त रहेका कारण निपा भाइरस संक्रमण जोखिम भित्रिएमा वैकल्पिक व्यवस्था मिलाइने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा विभागले संक्रमणबाट सुरक्षित रहन पूर्व तयारीका कार्य गर्न निर्देशन गरे बमोजिमका काम थालिएको बताउनुभयो ।
विपीले सार्वजानिक सूचना जारी गर्दै निपा भाइरस मुख्यतया फलफूल खाने चमेरोबाट मानिसमा सर्ने जानकारी दिएको छ । संक्रमित फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) चमेरोले टोकेका वा जुठो हालेपछि मासिनले खाँदा सर्ने बताइएको छ । यसैगरी संक्रमित सुँगुर वा अन्य जनावरको ¥याल र पिसाबको सम्पर्कबाट पनि सर्ने जनाइएको छ । यसैगरी संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा (विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुने जनाइएको छ ।
संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिने जसमा अत्यधिक ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने, मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने । गम्भीर अवस्थामा मस्तिष्क सुन्निने र जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्ने जनाइएको छ ।
यसैगरी अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि नभएकोले सावधानी नै सबैभन्दा ठूलो उपचार हुने स्वास्थ्य निर्देशक बस्नेतले बताउनुभयो । यसका लागि फलफूल सफा गरेर मात्र खाने र भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै नखान सुझाइएको छ । साबुन पानीले नियमित रूपमा हात धुने र बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक नजान भनिएको छ । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुहोस् ।
स्वास्थ्य निर्देशक बस्नेतले कहिंकसैलाई मिल्ने संकेत देखिएका व्यक्ति भए अस्पतालमा जान सुझाव दिन अनुरोध गर्नुभयो । उहाँले घर वा आसपासमा चमेरो देखिएमा फलफूल खाँदा ध्यान दिन अनुरोध गर्नुभयो । रुघाखोकी, ज्वरो वा जीउ दुख्ने भएमा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि सुझाव दिइएको छ ।