विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्रसभागृह प्रयोग गर्ने सम्झौता नै नभई कोशी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन त्यहाँ सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी प्रदेशसभा वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने चर्चा चलेपछि यस अगाडी चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चालनका लागि कटहरी गाउँपालिका १ स्थित तरकारी बजारमा तयारी गरिरहेको थियो । तर, त्यहाँ तयारी नभएको भन्दै सभागृहमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत योगेन्द्रप्रसाद दुलालले मौखिक कुरा मात्रै चलेको बताए । प्रदेश सरकारले सभागृहका विषयमा सामान्य चासो मात्र राखेर हटेको थियो तर अहिले एक्कासी अधिवेशन सञ्चालन गर्ने स्थान तोकेकोले अब बाँकी प्रक्रिया टुङ्ग्याउने प्रक्रियामा जानुपर्ने उनको भनाई थियो ।
महानगरले सभागृह सञ्चालनका लागि प्रतिदिन न्यूनतम ७० हजार रुपियाँ शुल्क तोकेको छ । यो शुल्क भन्दा कममा भाडामा दिन सक्ने स्थिति हुँदैन । तर, प्रदेश सरकारले मासिक ८ लाखमा भाडामा लिएको हल्ला चलाएपछि झन् रहस्यमय बनेको छ । शुल्क निर्धारण गर्दा महानगरको कार्यपालिकाबाट निर्णय गर्नुपर्ने हुन्छ । यसैले तोकेको भन्दा कम शुल्कमा भाडामा लगाउन पाइदैन ।
जेन्जी आन्दोलनका क्रममा पुरानो सभाहल क्षतिग्रस्त भएपछि कोशी प्रदेशसभाको बैठक कटहरीस्थित फलफूल बजारमा सरेको थियो । तर त्यहाँ पर्याप्त संरचना नभएको भन्दै सरकारले महानगरको सभागृह रोजेको हो । यसअघि मंसिर अन्तिम साता पनि महानगरसँग सम्झौता नगरी बैठक राख्न खोज्दा समन्वय अभावकै कारण प्रदेश सरकारको तयारी असफल भएको थियो ।