काठमाडौं । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो ।
त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत भएको बताएका छन् ।
उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवद्र्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो । यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताएका छन् ।