विराटनगर माघ २१ ,
विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालले निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रम आयोजना गरेको छ। विराटनगरको स्वागतम होटेलमा मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो ।
क्यान्सर उपचार तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बीपीकेआईएचएस धरान, बी एन्ड सी (पूर्वाञ्चल क्यान्सर अस्पताल), कोशी अस्पताल तथा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ तथा विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर रोगको पहिचान, उपचारका नयाँ विधि, प्रविधिको प्रयोग, र बिरामी–केन्द्रित सेवाबारे विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रमका क्रममा विभिन्न अस्पतालका चिकित्सकहरूले आफ्ना अनुभव, अनुसन्धान र व्यवहारिक अभ्यासहरू साझा गर्दै आपसी सहकार्य र समन्वयलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। विशेषज्ञहरूले समन्वित उपचार प्रणाली र ज्ञान आदान–प्रदानले क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउनेमा जोड दिए।
नोबेल क्यान्सर अस्पतालले यस्ता कार्यक्रममार्फत चिकित्सकहरूको क्षमता विकाससँगै क्यान्सर उपचारमा संस्थागत सहकार्य विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्धक, समयसापेक्ष र भविष्यका लागि महत्वपूर्ण पहलका रूपमा मूल्यांकन गरेका छन्।