सदा झैं निर्वाचनले छोएन विराटनगरका मुद्रण उद्योगलाई

<span class='c1'>सदा झैं निर्वाचनले छोएन</span> <span class='c2'>विराटनगरका मुद्रण उद्योगलाई</span>

विराटनगर । निर्वाचनको समय नजिकीएसँगै रातभर काम गर्नुपर्ने विराटनगरका मुद्रण उद्योग यस पटक चुपचाप छन् । सदा झैं राजनीतिक दलले निर्वाचन प्रचार सामाग्री बनाउन हौसिएका छैनन् । निर्वाचन प्रचारको काम आगामी फागुन ४ गतेदेखि सुरु हुँदैछ । तर, मुद्रण उद्योगका लागि दिनुपर्ने अर्डर अहिलेसम्म दिइएको छैन । पहिलाको निर्वाचनको समयमा राजनीतिक दलहरुले मनोनयन दर्ता गरेसँगै प्रचार सामाग्री बनाउन अर्डर दिने गरेको नेपाल मुद्रण उद्योग संघ मोरङका अध्यक्ष सुवास कार्की सम्झन्छन् । तर, यस पटक राजनीतिक दलले विराटनगरका मुद्रण उद्योगसम्म काम दिइसकेका छैनन् ।

निर्वाचन आयोगले दलहरुलाई निर्वाचन प्रचारमा जानु अगाडी आफ्नो घोषणापत्र सार्वजानिक गर्नुपर्ने आचारसंहिताको व्यवस्था गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रचार प्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने हुन्छ । यो व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको हो ।
आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी सो को आधारमा प्रचार प्रसार गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचार प्रसार हुने कार्य तालिका छ ।

निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणा पत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि छ ।
यी सबै प्रावधान राखिएका कारण पनि कतिपय उम्मेदवारलाई तयारीमा जुट्दै हैरान भएकाले मुद्रण गराउने सामाग्रीमा ध्यान नपुगेको हुननसक्ने अध्यक्ष कार्की बताउँछन् । त्यसैपनि निर्वाचनमा दलहरुले प्रचार सामाग्रीको रुपमा प्रयोग गर्ने झण्डा, टिसर्ट, क्याप, ब्याच, पोष्टर छपाउन मुद्रण उद्योगीहरु असजिलो मान्छन् । ठ्याक्कै सम्पर्क व्यक्ति चिनेको हुनुपर्ने, अनि पैसाको ग्यारेन्टी बसिदिए मात्रै मुद्रण उद्योगले निर्वाचन प्रचार सामाग्री छपाईमा चासो राख्ने गर्दछन् । त्यहि माथि बढ्दो सामाजिक सञ्जाल प्रयोगका कारण अहिले झण्डा, ब्यानर, पोष्टर, टिसर्ट, क्याप र ब्याच को माग घट्दो रहेको छ ।

पञ्चकन्या प्रिन्टर्सका सञ्चालक लभ घिमिरेले अहिले भर्खरै केहि अर्डरहरु आएको सुनाए । उनका अनुसार अब विस्तारै भिजिटिङ्ग कार्ड, उम्मेदवार परिचय जस्ता प्रचार बनाउने अर्डर आउन थालेको हो । तर, पहिला जस्तो उम्मेदवारहरु हतारिएको चाँहि देखिएको छैन । गजुरमुखी प्रिन्टर्सका सञ्चालक हरी दाहालले काम आइहालेपनि उम्मेदवार, राजनीतिक दलको अर्डर निर्वाचनमा नलिने बताउँछन् । उनले यदि प्रचार सामाग्री बनाउन दिदाँ पैसाको ग्यारेन्टी भएपछि मात्रै छपाई गर्ने बताए ।
यसैगरी अरनिको छापाखानाका नरेश तुम्रोकले यस पटक अहिलेसम्म कसैले अर्डर नदिएको सुनाए । उनले पहिला जस्तो निर्वाचनमा दलहरु प्रचारप्रसारका सामाग्री छपाउने र बाँड्ने भन्दा पनि सामाजिक सञ्जालको प्रयोग बढाउने लाइनमा गएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्