विराटनगर । विराटनगरमा रहेको गुरुकुल सीएको आयोजनामा मेगा क्विज तथा विद्यार्थी कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित स्वागतम होटलमा आयोजित उक्त हाजिरीजवाफ प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा विज्ञान संकायतर्फ अरनिको कलेजका अनिक मण्डल प्रथम भएका छन् भने बीकेभीएमका सौगात पोखरेल द्वितीय र सन्दीप कुमार सिंह तृतीय भए। त्यसैगरी व्यवस्थापन संकायतर्फ बीकेभीएमकी सायाना भट्टराई प्रथम, डीपीएसका रोहन अग्रवाल द्वितीय तथा विश्व आदर्श कलेज, इटहरीकी सुधा बस्नेत तृतीय स्थान हासिल गर्न सफल भइन्।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता, नेतृत्व विकास तथा ज्ञान आदान–प्रदानमा टेवा पुगेको विश्वास लिइएको छ।
