सोनु साह
विराटनगर। चुनाव नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. ५ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा जस्तै यहाँ पनि मतदाताहरू आफ्ना उम्मेदवारका विषयमा खुलेर छलफल गर्न थालेका छन्। चियापसल, बाटोघाटो, चौक–चौतारी तथा छरछिमेकमा चुनावी चर्चा चुलिँदै गएको छ। क्षेत्र नं. ५ का मतदाता रवि कुमार सिंहका अनुसार यसपालि उम्मेदवारहरूबीच ठूलो प्रतिस्पर्धा देखिएको छ। “हामी कसलाई मत दिने भन्ने त खुलाउन मिल्दैन, तर हामीलाई योग्य र सक्षम उम्मेदवार चाहिएको हो,” उनले भने।
स्थानीय विनोद रजकले क्षेत्रको समग्र विकास र शिक्षा क्षेत्र सुधार गर्न सक्ने उम्मेदवार आवश्यक रहेको बताए। त्यस्तै मो। दासद आलमले जनताको दुःख–सुखमा साथ दिने उम्मेदवारप्रति अपेक्षा रहेको बताए। किराना व्यवसायी सन्तोष सिंहका अनुसार यसपटक देशभर नयाँ परिवर्तनको लहर देखिएकाले आफू पनि नयाँ अनुहारको प्रतीक्षामा रहेको बताए। “पुरानालाई पटक–पटक अवसर दिँदा पनि धोका मात्र पाइयो, त्यसैले यसपालि मेरो मत परिवर्तनतर्फ छ,” उनले भने।
स्थानीय युवाहरूले शिक्षित, स्थानीय समस्या उठान गर्न सक्ने, कानुनी ज्ञान भएको तथा योग्य उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्। उनीहरूले देशमा बढ्दो भ्रष्टाचार न्यूनीकरण गर्न सक्ने उम्मेदवार अहिलेको आवश्यकता भएको धारणा राखे। अविशेषक यादवले अहिलेसम्म धेरै उम्मेदवार देखे पनि कसैले अपेक्षित विकास गर्न नसकेको गुनासो गरे। उनले यसपटक शिक्षित, युवा र राम्रो भिजन भएको उम्मेदवार खोजिरहेको बताए। “यदि त्यस्तो उम्मेदवार नपाए मतदान नगरी विदेश जाने सोच बनाएको छु,” उनले दुखेसो पोखे।
रामविलास यादवका अनुसार देश बनाउन, बचाउन र विखण्डनबाट जोगाउन सक्ने शिक्षित व्यक्ति संसदमा पुग्नुपर्ने बताए। “शिक्षित व्यक्ति आए देश आफैं बन्छ,” उनको भनाइ छ। जितेश साहले दुई पटक मतदान गरिसके पनि विकासको शैली उही रहेकाले यसपालि कसलाई मत दिने भन्नेमा अलमलमा रहेको बताए। उनले उम्मेदवारका एजेन्डा हेरेर मात्र मतदान गर्ने बताए।
स्थानीय युवा मुकेश यादवका अनुसार विगत दुई कार्यकालमा अनुहार फेरिए पनि समस्या उस्तै रहेको बताए। उनले मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ५ विकासमा निकै पछाडि परेको उल्लेख गरे। विराटनगर महानगरपालिका वडा नं. १८ मा शिक्षा कमजोर, युवा बेरोजगारी, लागुऔषध दुर्व्यसनजस्ता समस्या बढ्दै गएको भन्दै यस्ता समस्या समाधान गर्न सक्ने नयाँ, शिक्षित र कर्मठ उम्मेदवार आवश्यक रहेको बताए। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लिएर मोरङ क्षेत्र नं. ५ का मतदाता परिवर्तन र सक्षम नेतृत्वको खोजीमा देखिएका छन्।