सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ मा समृद्धिको आभास दिने नामको ‘सम्पन्न बस्ती’ छ । सुन्दा सम्पन्न बस्ती आनन्द आउने भएपनि भोग्दा यसको पीडा फरक रहेको छ । अर्थात् भनौं यो बस्तीको वास्तविकता भने ठीक उल्टो छ। कोशी प्रदेशको राजधानीमा कोशी राजमार्ग पश्चिम–दक्षिण चार किलोमिटर दुरीको बस्तीमा पुग्दा अभाव र समस्या नै समस्या सुनिन्छ । सम्पन्न बस्तीमा राखिएको विपन्नहरु हिउँद र वर्षात् आनन्दका दिन काट्दैनन् ।
बर्खायाममा केसेलिया खोलाको बाढीले कतिबेला उठिबास लगाउने हो भन्ने त्रासमा यहाँका बासिन्दा बाँचिरहेका हुन्छन्। वर्षायाममा हिलो र सुख्खायाममा धुलोले सताउने मुख्य सडक, बजार क्षेत्रबाट दूरी, यातायातको अभाव, स्वास्थ्य सेवा र शिक्षामा पहुँचको कमी—यी सबै समस्याले बस्ती थिचिएको छ। बिरामी पर्दा बालबालिकालाई बोकेर अस्पताल लैजानुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ ।
मोरङ निर्वाचन क्षेत्र नं. ६ अन्तर्गत पर्ने यस बस्तीमा पूर्वाधारका नाममा सरकारले निर्माण गरिदिएको घरबाहेक उल्लेख्य विकास छैन । स्थानीय भरत ऋषिदेवका अनुसार आफू ६ वर्षदेखि बस्दै आए पनि अहिलेसम्म बाटो नबनेको र हरेक वर्ष वर्षातमा डुबान खेप्नुपरेको छ । “डुबान हुँदा मात्र सरकार र जनप्रतिनिधिको चासो देखिन्छ, बाँकी दिन कसैले वास्ता गर्दैन,” उनी भन्छन् ।
भुमिहीन दलित सुकुम्बासीलाई व्यवस्थापन गर्ने उद्देश्यले १४५ घरपरिवारका लागि घर बनेको हो । तर, घर बनाउन विभिन्न स्रोत व्यवस्थापन गरिएपनि जग्गाको स्वामित्व पाउन लघु वित्त वित्तीय कम्पनीको कर्जा स्यम् नागरिकको काँधमा छ । १० धुर जग्गामा बनेको घरका मालिकको पूर्जा भने लघु वित्त वित्तीय संस्थामा छन् । उनीहरुले कर्जा वापत मासिक ७ हजार रुपैयाँ किस्ता तिर्नुपर्ने बाध्यता छ ।
यहि बाध्यताले बेरोजगार बस्तीका बासिन्दा थप पीडित बनेका छन्। “दैनिक खानपिन धान्नै गाह्रो छ, किस्ता कसरी तिर्ने ?” स्थानीय सीता ऋषिदेव प्रश्न गर्दै–उनले घरको किस्ता मिनाहा गरिदिने उम्मेदवारलाई मत दिने स्पष्ट संकेत गरिन्।
शिक्षा पनि अर्को जटिल समस्या बनेको छ। समुदायिक विद्यालयमै शुल्क मागिने हुँदा धेरै बालबालिका विद्यालयबाट बञ्चित हुनुपरेको अभिभावकहरूको भनाइ छ। “हामी पढ्न पाएनौं, तर हाम्रा छोराछोरी शिक्षा बाट वञ्चित नहोस् भन्ने चाहन्छौं,” मंगला ऋषिदेवले भनिन्।
राजकुमार ऋषिदेवका अनुसार सम्पन्न बस्तीबाट सहरतर्फ निस्कने मुख्य सडक धुलामय र जीर्ण अवस्थामा छ। “अस्पताल जान, बालबालिकालाई विद्यालय पठाउन निकै समस्या हुन्छ,” उनले बताए।
यस बस्तीको उद्घाटन कांग्रेस नेता शेखर कोइराला र निवर्तमान मुख्यमन्त्री केदार कार्की ले गरेका थिए। अहिले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रबाट कांग्रेसका शेखर कोइराला, एमालेका विनोद ढकाल र रास्वपाकी रुविना आचार्य सहित २० जना उम्मेदवार चुनावी मैदानमा छन्।
स्थानीयहरू भने यसपटक आश्वासनभन्दा काम खोजिरहेका छन्। बाढी नियन्त्रण, सुरक्षित बसोबास, शिक्षामा सहज पहुँच, सडक निर्माण र रोजगारी सृजना—यी मुख्य समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मात्र मत दिने उनीहरूको अडान छ।
‘सम्पन्न’ नाम बोकेको यो बस्ती अहिले पनि आधारभूत आवश्यकताबाट वञ्चित छ। चुनाव यहि फागुन २१ गते हुन लागेको छ । उनीहरुको पीडा सधैं बल्झने गर्दछ । हरेक महिना लघु वित्तको किस्ता, हरेक वर्षामा डुबान, अनि हरेक निर्वाचनको भाषणमा हाम्रो पहलमा बनेको सम्पन्न बस्ती ।