विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । कलेज शुक्रबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने करिब १२५ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
कलेजले लिएको आन्तरिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने कक्षा ११ र १२ का झण्डै १ सयबढी विद्यार्थीहरूलाई पदक तथा प्रशंसा पत्र प्रदान गरेको छ ।
सोही अवसरमा विधागत रूपमा टप टेन (उत्कृष्ट १ सय भित्र पर्न सफल विद्यार्थीहरूलाई कलेजले नगद पुरस्कारसहित विशेष सम्मान पनि गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई निरन्तरको मेहनत र अनुशासनले मात्र सफलताको शिखरमा पुर्याउने बताउनुभयो ।
पुरस्कार वितरण समारोहमा कलेजका प्रिन्सीपल तथा डा. राजेन्द्रप्रसाद चौधरी, राजेन्द्रप्रसाद यादव, दयानन्द सिंह, अनिलकुमार दास, डा. ललितनारायण मण्डल, रामचन्द्र अधिकारी, शेषनारायण चौधरी, मणिराज भट्टराई, डा। गुणनाथ गौतम, रितुराज रेग्मी, वेदप्रकाश दाहाल, भूपेन्द्र दाहाल र थिरप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो। सञ्चालकहरूले विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान(पत्र वितरण गर्दै उनीहरूको उज्वल भविष्यको कामना गर्नुभएको थियो।
यसैगरी, कलेजद्वारा आयोजित आन्तरिक हाजिरीजवाफ प्रतियोगिता र हिसान मोरङद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी भई कलेजको गरिमा बढाउने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।