विराटनगर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारहरुले अहिले आ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्य एकपछि अर्को गर्दै आईरहेका छन् । यसैक्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज कुमार अग्रवालले पनि आफ्नो मतदाताहरुलाई विस्वास दिलाउन त्यसक्षेत्रका समस्याहरुलाई उठान गर्दै सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनी नेकपा (एमाले) का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका अग्रवालले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै क्षेत्र नम्बर ५ को समग्र विकास र उत्थानका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले विकास निर्माणका हिसाबले पछाडि परेको क्षेत्रलाई रूपान्तरण गर्ने मुख्य लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको स्पष्ट पारे ।
भौतिक पूर्वाधार र सडक निर्माणको लागि अग्रवालले रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई मापदण्डअनुसार स्तरोन्नति गरी आधुनिक सुविधा सम्पन्न नमुना मार्गका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै विराटनगर–१३ देखि १८ सम्मका वडा, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ७ भित्रका सबै सडक पाँच वर्षभित्र आवश्यक ढल निर्माणसहित कालोपत्रे गरिने योजना अघि सारेका छन् ।

त्यसैगरी कृषि, सिँचाइ र तटबन्धनको क्षेत्रमा पनि कृषि क्षेत्रको विकासका लागि विराटनगर–रंगेली क्षेत्रका वडा, विशेषगरी धनपालथान र जहदालाई जिल्लाकै विशेष कृषि जोनका रूपमा विकास गरिने उनले बताए । बक्राहा चिसाङ, लोहन्द्रा सिघिंया, केशलिया लगायतका खोलानालालाई सिँचाइ प्रयोजनमा उपयोग गर्ने तथा बाढी कटान रोक्न आवश्यक तटबन्धन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यससैगै उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबै सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष योजना ल्याइने उनले बताए। रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने तथा धनपालथान, जहदा र विराटनगर–रानी क्षेत्रमा थप सुविधा सम्पन्न अस्पताल निर्माणका लागि पहल गरिने उल्लेख गरेका छन् ।

त्योसँगै उद्योग, व्यापार र रोजगारीको क्षेत्रमा पनि विशेष ध्यानमा राख्दै विराटनगर–रानी मिल्स एरियामा रहेका जुट मिल, सुगर मिल, जुद्ध म्याच फ्याक्ट्रीलगायत बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउन पहल गरिने उनले बताए। नेपाल सरकारको नाममा बाँकी रहेका उद्योग तथा जमिनलाई ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गरी नयाँ उद्योग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ।

त्यसैगरी यसक्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू—मठमन्दिर, मस्जिद, बौद्ध गुम्बा र चर्चहरूको पुनर्निर्माण तथा स्तरोन्नति गरिने प्रतिबद्धता उनले जनाए। शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा सशक्त आवाज उठाउने तथा युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा र अशक्त वर्गका समस्यामा विशेष पहल गरिने उल्लेख गरे।
अग्रवालले क्षेत्र नम्बर ५ लाई समग्र रूपमा विकसित र समृद्ध बनाउने लक्ष्यसहित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको बताएका छन् । उनले अन्तमा के पनि भनेका छन् भने , चुनावमा जिते पनि नजिते पनि आफु सधै क्षेत्रका जनताहरुको साथमा रहने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।