विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रको सुरक्षा कमाण्ड नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्ने भएका छन् । निर्वाचन सुरक्षालाई चुस्त पार्नका लागि प्रत्येक क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा बेस बस्नेछ । त्यहि बेसबाट क्षेत्रगत सुरक्षा कमाण्ड डिएसपी गर्ने गरी मिलाइएको छ ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार अति संवेदनशील सूचिमा रहेका निर्वाचन क्षेत्र १ र ५ मा भने दुई÷दुई जना परिचालन गर्ने तयारी रहेको छ । प्रहरी उपरीक्षक कटुवालका अनुसार क्षेत्र नम्बर १ को उर्लाबारी बेस बनाएर दुईजना डिएसपी खटाइने छ । यसैगरी २ को रतुवामाई नगरपालिकाको सिजुवा बेस हुनेछ, क्षेत्र नम्बर ३ को बेलबारी बेस, क्षेत्र नम्बर ४ मा जिल्ला प्रहरी कार्यालयले नै हेर्नेछ । यसैगरी क्षेत्र नम्बर ५ मा रंगेली बनाएर दुईजना डिएसपी खटाउने तयारी गरिएको छ । क्षेत्र नम्बर ६ का लागि वडा प्रहरी कार्यालय विराटनगर बेस बनाएर एकजना डिएसपी परिचालन गरिने भएको छ ।
मोरङमा कुल ७ लाख ८३ हजार ५० जना मतदाता छन् । जसमा निर्वाचन क्षेत्र नं १ मा १ लाख २८ हजार ५ सय ४५ जना मतदाता रहेका छन् । यसमध्ये ६५ हजार ५३ महिला र ६३ हजार ४ सय ९२ जना पुरुष रहेका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा १ लाख २९ हजार १ सय ८४ जना मतदाता दर्ता छन्, जसमा ६१ हजार ५ सय ९० महिला र ६७ हजार ५ सय ९३ जना पुरुष रहेका छन् ।
निर्वाचन क्षेत्र नं ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता रहेका छन् । तीमध्ये ८० हजार ८ सय ८३ जना महिला र ७७ हजार १ सय ७० जना पुरुष छन् । क्षेत्र नं ४ मा १ लाख १९ हजार २ सय ५५ जना मतदाता रहेका छन्, जसमा ५८ हजार ६२ जना महिला र ६१ हजार १ सय ९२ जना पुरुष छन् । निर्वाचन क्षेत्र नं ५ मा १ लाख १० हजार १ सय ७७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ५० हजार ५ सय ५५ जना महिला र ५९ हजार ६ सय २२ जना पुरुष दर्ता छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं ६ मा १ लाख ३७ हजार ८ सय ३२ जना मतदाता रहेका छन्, जसमा ६७ हजार २ सय १४ जना महिला र ७० हजार ६ सय १७ जना पुरुष रहेका छन् । अन्य समूहमा ७ जना मतदाता रहेका छन् ।
मोरङ जिल्लामा कुल ३०६ वटा मतदान स्थल तोकिएका छन् । निर्वाचन क्षेत्र नं १ मा ६० मतदानस्थलमध्ये १० अतिसंवेदनशील, ४६ संवेदनशील र ४ सामान्य मानिएका छन् । क्षेत्र नं २ मा ६८ मतदानस्थलमध्ये ११ अतिसंवेदनशील ११ संवेदनशील र ४६ सामान्य रहेका छन् । क्षेत्र नं ३ मा ५५ मतदानस्थलमध्ये २८ संवेदनशील र २७ सामान्य रहेका छन् । क्षेत्र नम्बर ४ मा ४० मतदानस्थलमध्ये १७ संवेदनशील र २३ सामान्य रहेका छन् ।
क्षेत्र नं ५ मा ४४ मतदानस्थलमध्ये २५ मतदानस्थल अति संवेदनशीलमा सूचिकृत रहेका छन् । संवेदनशील मतदानस्थल १९ छन् । क्षेत्र नं ६ मा ३९ वटा मतदान स्थलछन् । जसमा १ अतिसंवेदनशील ४ संवेदनशील र ३४ सामान्य रहेका छन् । प्रहरी उपरीक्षक कटुवालका अनुसार भारतसँग सीमा जोडिएको क्षेत्र नम्बर ५ मा दुईजना प्रहरी नायव उपरीक्षक र बहुभूगोलका हिसाबले क्षेत्र नम्बर १ मा दुईजना डिएसपीको कमाण्ड तयार पारिएको हो ।