विराटनगर । विराटनगरको जुटमिलमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि नजिकको यात्रा तय गरेको हो ।
अब इटहरीले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार घरेलु टोली युनाइटेड भेट्रान्स क्लब र आयोजक मिल्स भेट्रान्स क्लब (निलो) बीच प्रतिस्पर्धा हुनेछ ।
निकै प्रतिस्पर्धात्मक बनेको बुधबारको खेलमा पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको इटहरीका लागि बिमल कार्कीले निर्णायक गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि पर्याप्त बन्यो । निर्णायक गोलकर्ता कार्की नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।