विराटनगर । विराटनगर १० मा रहेको ओडिसी स्कुलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बिहीबार स्कुल परिसरमा आयोजित एक भव्य समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो।

कार्यक्रमको समुद्घाटन विराटनगर महानगरपालिका वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरीले गरेका थिए । उद्घाटन मन्तव्य राख्दै वडाअध्यक्ष गिरीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई गुणस्तरीय शिक्षासँगै व्यावहारिक सीप र संस्कार सिकाउनु अपरिहार्य रहेको बताए ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूलाई उत्पादनमुखी शिक्षासँग जोड्नुपर्नेमा जोड दिए ।

उने भने, ‘आजको आवश्यकता भनेको गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई सीप र संस्कार सिकाएर भविष्यमा उत्पादन र आत्मनिर्भरतासँग जोड्नु हो।’
विद्यालयका प्रिन्सिपल भानु भट्टराईले ओडिसी स्कुलले विद्यार्थीको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताए । उनले विद्यालयमा प्ले–ग्रुप (पीजी) देखि कक्षा १० सम्म ४ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी समेत दिए ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा सुमधुर गायन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्कृष्ट कला प्रदर्शनले उपस्थित अतिथि, अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रम विद्यार्थीहरुलाई परीक्षा तथा अन्य खेलकुदका क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

