विराटनगर । विराटनगर १ मा रहेको डान बोर्डिङ स्कुलले बिहीबार आफ्नो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा मनाएको छ । स्कुल परिसरमा आयोजित विशेष समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको मर्मस्पर्शी नाटकले उपस्थित अतिथि तथा अभिभावकहरूलाई भावविह्वल बनाएको थियो ।

वार्षिकोत्सवको मुख्य आकर्षणको रूपमा रहेको उक्त नाटकमा विद्यार्थीहरूले वर्तमान समयको यथार्थ र समसामयिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेका थिए । विशेषगरी गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन र त्यस क्रममा घटेका हिंसात्मक घटनाहरूलाई समेटेर तयार पारिएको नाटकले कार्यक्रम स्थलमा सन्नाटा छाएको थियो । विद्यार्थीहरूको उत्कृष्ट अभिनय र घटनाको मार्मिक प्रस्तुति देखेपछि कार्यक्रममा सहभागी अतिथि र अभिभावकहरू मन्त्रमुग्ध हुनुका साथै भावुक बनेका थिए ।

कार्यक्रमको उद्घाटन प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले गरे । उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष बस्नेतले अबको शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै दक्ष नागरिक उत्पादन गर्न सकिने बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतका अतिथिहरूले स्कुलको शैक्षिक प्रगतिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे । स्कुलका प्रिन्सिपल हिरा थापाले डान स्कुलले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई सीप र संस्कारसहितको शिक्षा दिइरहेको बताए । ‘‘हामी विद्यार्थीको चौतर्फी विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिन्छौँ, जसले गर्दा आज डान स्कुल धेरैको रोजाइमा पर्न सफल भएको छ,’ प्रिन्सिपल थापाले भने ।

कार्यक्रममा विद्यार्थीहरूले नाटकका साथै विभिन्न विधाका उत्कृष्ट नृत्य र सुमधुर गायन समेत प्रस्तुत गरेका थिए । विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएको थियो । साथै कायक्रममा स्कुलले लिएको परीक्षा तथा विभिन्न खेलकुद कार्यक्रमहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
