विराटनगर । कार्वबहाक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले भड्किएको अनुशासन निर्वाचनले फर्काउने आसा व्यक्त गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका विषयक विस्तृत कार्यक्रममा आफ्ना धारणा राख्दै कावा आयुक्त भण्डारीले आजको दिन निर्वाचन राष्ट्रिय आवश्यकता बनेको बताएका हुन् ।
उनले भदौ २३ र २४ गतेको विद्रोहपछि आवश्यकताले निर्धारण गरेको निर्वाचनले देशलाई लोकतन्त्रको मर्यादा भित्र फर्काउने आसा व्यक्त गरेका छन् । राष्ट्रपतिले संविधान संरक्षणका लागि निर्वाचनको निर्धारित मिति तय गरेर घोषणा गर्नु भएकोले यसलाई सफल बनाउनुपर्ने बताएका छन् ।
‘२००७ सालको क्रान्ति, २०४६ को आन्दोलन, २०६३ को जनआन्दोलनपछि गत भदौ २३ र २४ मा विद्रोहले निर्वाचनको माग गरेको छ’ आयुक्त भण्डारीले भने–निर्वाचन माग गर्ने विद्रोही पक्षको सुनुवाई गर्नु र संविधानलाई परिस्कृत बनाउने कार्यभार बोकेको सांसद निर्वाचित गराउने निर्वाचन पेचिलो हुनु सामान्य हुन्छ । उनले जति पेचिलो भएपनि नेपालको निर्वाचन विश्वमा निष्ठाको रुपमा हेरिने गरिएकोले त्यसलाई कायम राख्न निर्वाचन आयोग सक्षम रहेको दावी गरेका छन् ।
उनले निर्वाचनमय वातावरणले प्रतिस्पर्धालाई स्वच्छ बनाउने बताउँदै मुलुकको आफ्नो आचरण कायम राख्न दलहरुको भूमिका जोडिने बताएका थिए । त्यसका लागि दलहरुले आयोगले तय गरेको निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
निर्वाचनको मिति नजिकदै अबका १२ दिनमा मतदान गर्ने अवस्थासम्म आउँदा धेरै असजिलो स्थिति भोग्नु परेको उनले बताए । तर, राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगले असोज ३० गते दलहरुसँग गरेको संवादले निर्वाचनको वातावरण सकारात्मक बन्न सहज भएको बताएका थिए ।
अहिले निर्वाचन सामाग्री ढुवानीको काम समेत सम्पन्न भइसकेको बताउँदै निर्वाचन आयुक्त भण्डारीले अब प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हातमा यसको जिम्मेवारी पुगेको बताएका थिए ।
वनभोज नेता पुगे, निर्वाचनको खर्च
निर्वाचन आयोगका कार्यवहाक आयुक्त राम प्रसाद भण्डारीले अहिले धेरै नेताहरुले वनभोज आयोजना गरेर त्यहाँ खानपीनको व्यवस्था गर्ने गरेको बताएका छन् । उनले यस्ता उजुरी मात्रै १२ वटा रहेको बताउँदै वनभोजमा पुगेर नेताले भाषण गरेको प्रमाणित भएमा त्यहाँ भएको खर्च समेत निर्वाच खर्चमै समावेश गरिने बताएका छन् । मोरङमा अहिलेसम्म क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस र एमालेले निर्वाचन प्रचारका सामाग्री पोलमा टाँगेको उजुरी आएपछि सतर्क गराइसकिएको छ । त्यस बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका यहि क्षेत्रका कार्यकर्ता टिसर्ट लगाएको उजुरी समेत प्राप्त भएको छ । यी उजुरी अन्तर्गत उम्मेदवारलाई सजग गराइसकिएको छ ।