विराटनगर । विराटनगर–१०, तीन टोलिया स्थित टडलर्स हेभेन विद्यालयको २१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको दुईदिने कार्यक्रम शनिबार विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको हो।
२१ वर्ष पूरा गर्दै २२औँ वर्षमा प्रवेश गरेको विद्यालयले वार्षिकोत्सवको अवसरमा सांस्कृतिक नृत्य, अन्तर्क्रिया कार्यक्रम, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएर उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।




कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख राम प्रसाद ढुगेल रहेका थिए। विशिष्ट अतिथिमा मोरङ व्याव्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, विद्यालयका प्रबन्ध निर्देशक सन्दीप सेठिया लगायतको उपस्थिति रहेको थियो।



विद्यालयकी प्रधानाध्यापक रजनी सेठियाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै नानीबाबुहरूको भविष्य उज्ज्वल रहेको बताइन्। उनले विद्यार्थीलाई अझ कर्मठ र अनुशासित बनाउन विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरिन्। साथै, बालबालिका डिजिटल युगमा प्रवेश गरिसकेको अवस्थामा अभिभावकले सचेत र निगरानीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
विद्यालयले उत्कृष्ट विद्यार्थी तथा सहयोगी अभिभावकहरूलाई सम्मान समेत गरेको थियो। हाल विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् भने प्ले ग्रुपदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन सञ्चालन हुँदै आएको छ।