विराटनगर । होली पर्वलाई लक्षित गर्दै बजारमा ल्याइएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को तस्बिर अंकित टि–सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका–९ क्षेत्रका विभिन्न पसलबाट ती टि–सर्ट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । होली पर्व नजिकिँदै गर्दा व्यापारीहरूले बिक्रीका लागि ल्याएका टि–सर्टमा बालेन र रविको संयुक्त तस्बिर छापिएको पाइएको थियो । बजारका अधिकांश पसलमा उक्त तस्बिरयुक्त टि–सर्ट बिक्रीका लागि राखिएको भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार निर्वाचन नजिकिँदै गरेको अवस्थामा यस्ता सामग्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्न सक्ने भएकाले नियन्त्रणमा लिइएको हो । होलीकै दिनदेखि मौन अवधि सुरु हुने र त्यस अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाइने प्रावधान रहेकाले सम्भावित उल्लंघन रोक्न पूर्वसावधानीस्वरूप टि–सर्ट नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गर्दै यस्ता सामग्री बिक्री वितरण नगर्न सचेत गराएको छ ।