विराटनगर , फाल्गुन १५ डा शेखर कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले आफ्नो नाम जोडेर प्रकाशित गरिएको समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। रातो पाटी अनलाइनमा हालै प्रकाशित एक समाचारमा उनलाई डा. शेखर कोइरालाका स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको तथा पार्टी सभापति गगनकुमार थापालाई निर्वाचनमा हराउन षड्यन्त्रमा भूमिका खेलेको आरोप लगाइएको थियो।
उनले आज जारी प्रेस विज्ञप्तिमा थपलियाले उक्त समाचारमा उल्लेख गरिएका सम्पूर्ण आरोपहरू “पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित” भएको स्पष्ट पारेका छन्। उनले आफू एक जिम्मेवार नेताको स्वकीय सचिवको रूपमा संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित रहेर कार्य गर्दै आएको उल्लेख गरेका छन्। थपलियाले आफ्नो नेता, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधिमा संलग्न हुनु त परको कुरा, त्यस्तो सोच राख्नु समेत आफ्नो नैतिकता र पेशागत धर्मविपरीत हुने बताएका छन्।
समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग कुनै संवाद वा भेट नभएको पनि उनले स्पष्ट पारेका छन्। उनले तथाकथित रूपमा नाम जोडिएका व्यक्तिबारे आफूलाई कुनै जानकारी नभएको र उपेन्द्र कुशवाहा तथा अमरेश सिंहसँग यस प्रकारको कुनै संवाद नभएको दाबी गरेका छन्। प्रेस विज्ञप्तिमा उनले प्रकाशित अडियो सामग्रीको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउन आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। साथै, व्यक्तिगत प्रतिष्ठा र सत्यको रक्षा गर्न आवश्यक परे कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन्। थपलियाले निराधार, अपुष्ट र भ्रामक समाचारले व्यक्तिगत प्रतिष्ठासँगै समग्र संगठन र लोकतान्त्रिक अभ्यासमा आघात पुग्ने उल्लेख गरेका छन्। वर्तमान संवेदनशील राजनीतिक अवस्थामा यस्ता प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई अनावश्यक रूपमा बदनाम गर्ने काम गर्ने उनको भनाइ छ।
अन्त्यमा, उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई सत्य र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न र अफवाहबाट प्रभावित नहुन आग्रह गरेका छन्।